काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमा वन तथा वातावरण मन्त्रालयको १४ अर्ब ५६ करोड ५४ लाख रुपैया विनियोजन गरेको छ। चालू आर्थिक वर्ष वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा वन तथा वातवारण क्षेत्रमा बजेट घटेर विनियोजन गरिएको छ।
सरकारले वन क्षेत्रलाई समृद्धिको आधार माने पनि आगामी आर्थिक वर्षको बजेटमा कुनै नयाँ कार्यक्रम ल्याएको छैन। जडिबुटीको व्यवसायिक खेती विस्तार गर्दै प्रशोधन बजारिकणगरी ब्राण्डिङ गरिने भनिएको छ। निकुञ्ज,आरक्षण,संरक्षण क्षेत्र मध्यवर्ती क्षेत्र सामुदायिक वनलाई पर्यटन गन्तव्यको रुपमा विकास गरिने उल्लेख छ।
लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्नुका साथै मानव-वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्दै वन्यजन्तुको बासस्थानको संरक्षणका लागि पर्ने बजेटमा उल्लेख छ।
चुरेका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन
सरकारले राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई परिर्माजन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा चुरेमा १ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ। भू–नियन्त्रण, क्षतिग्रस्त भूमीको पुनर्स्थापना, कृषि, वन, वायो इन्जिनियरसहितको तटबन्धमा खर्च गर्ने उल्लेख छ।
चालु आवमा वृक्षारोपण वर्षको रूपमा मनाउने निर्णय गरिएको थियो। आगामी आर्थिक वर्षमा शहरी तथा ग्रामीण भूभागमा ५० लाख फलफूल र ५५ लाख वृक्षारोपण गर्ने निर्णय गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखालाई थप विश्वसनीय बनाउन पाल्पा र उदयपुरमा राडार स्थापनाका बजेट विनियोजन गरिएको छ। यसअघि सुर्खेतको राडारको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।