काठमाडौं- निर्माणाधीन धरहरा रानीपोखरी र सिंहदरवारको मूल भवनलगायत भूकम्पपछिको पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ। निजी आवास पुरातात्विक सम्पदा विद्यालय भवन स्वास्थ्य संस्था सरकारी भवन र क्षतिग्रस्थ अन्य संरचनाको पुनर्निर्माणका लागि ५५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
विद्यालय भवनको बाँकी निर्माण सम्पन्न गर्न सम्बन्धित स्थानीय तहसँगको साझेदारीमा स्थानीय आवश्यकताअनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिनेछ।
भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा निजी आवास अनुदान वितरणतर्फ प्रथम किस्ता वापत ७ हजार १ सय ५५ लाभग्राहीलाई ५० हजार रुपैयाँ, दोस्रो किस्ता वापत ३५ हजार ७ सय ५६ लाभग्राहीलाई १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्ता वापत ७८ हजार ८ सय २९ लाभग्राहीलाई १ लाख रुपैयाँका दरले जम्मा ८ अर्ब २९ करोड ४२ लाख ८४ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ।
यसै अवधिमा निजी आवास पुनर्निर्माणतर्फ ६२ हजार ८ सय २१ लाभग्राहीले निर्माण कार्य सम्पन्न गरी हालसम्म ४ लाख ८१ हजार ५ सय ८५ निजी आवास पुनर्निर्माणको कार्य सम्पन्न भएको छ।
निजी आवास प्रवलीकरण गर्न १५ हजार ९ सय ९३ लाभग्राहीलाई प्रथम किस्ता बापत ५० हजार रुपैयाँका दरले ७९ करोड ९६ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। पुनः जाँच र पुनः सर्भेक्षण सम्पन्न गरी छुट भएका २० हजार वास्तविक लाभग्राही पहिचान गरिएको छ।
भूकम्पबाट क्षति भएका ९ सय २० पुरातात्विक सम्पदामध्ये हालसम्म ३८९ सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको, ७ हजार ५ सय ५३ विद्यालयमध्ये ३ सय २१ वटासहित हालसम्म ५ हजार ३ सय ८४ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको, १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये समीक्षा अवधिमा २ सहित ६ सय ६५ स्वास्थ्य संस्थाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
भूकम्पबाट क्षति भई पुनर्निर्माण गर्नुपर्ने ४ सय १५ सरकारी भवनमध्ये समीक्षा अवधिमा ५ सहित ३ सय ५९ भवनको पुनर्निर्माण कार्य सम्पन्न भएको, ३ सय ८३ सुरक्षा निकायका भवनमध्ये ११ सहित जम्मा १ सय ९४ भवनको पुनर्निर्माण कार्य सम्पन्न भएको र धरहराको पाचौं तलाको ढलान सम्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।