काठमाडौं- सरकारले आगामी आर्थिक वर्षबाट निर्माण शुरु हुनेगरी १ दर्जन बढी जलविद्युत आयोजनाका लागि वार्षिक बजेट विनियोजन गरेको छ।
नेपालको पानी जनताको लगानी कार्यक्रमअन्तर्गत माथिल्लो अरुण, किमाथांका अरुण, फुकोट कर्णाली, तामाकोशी ५, चैतपुर सेती र जगदुल्ला लगायतका जलविद्युत आयोजनाको निर्माण प्रकृया अगाडि बढाइने सरकारले घोषणा गरेको छ।
बुढी गण्डकी, पश्चिम सेती, नलगाड, उत्तरगंगा, आँधिखोला र नौमुरे बहुउद्देश्यीय आयोजनाको लगानी र निर्माणको ढाँचा यकीन गरी कार्यान्वयनमा ल्याउने पनि बजेटमा उल्लेख छ। जलाशययुक्त तमोर र माडि जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारीमा विस्तृत अध्ययन र डिजाइनको काम सम्पन्न गर्ने बजेटमार्फत सरकारले घोषणा गरेको छ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विकास कार्य अगाडि बढाउने पनि बजेटमा उल्लेख छ। त्यस्तै सरकारले बजेटमार्फत दूधकोशी जलाशययुक्त आयोजना ४ वटा अन्तर्राष्ट्रिय वित्तीय निकायको लगानीमा निर्माण अगाडि बढाउने घोषणा गरेको छ। नेपाल विद्युत प्राधिकरणले पहिलोपटक यस आयोजनामा संस्थागत जमानीमा यस आयोजनामा लागतको निश्चित अंश बाह्य लगानीका रुपमा परिचालन गर्न लागेको हो।
आगामी आर्थिक वर्षमा नेपालभित्रको विद्युत माग पुरा गरी निर्यातसम्म गर्नसक्ने गरी उत्पादन गरिनेछ।
नदी प्रणालीमा आधारित अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाको मिश्रणका रुपमा विकास गर्ने योजना सरकारको छ। आगामी आर्थिक वर्ष माथिल्लो तामाकोसी, रसुवागडी, माथिल्लो सान्जेन, मध्ये भोटेकोशी र निजी लगानीकर्ताबाट प्रवर्द्धित साना तथा मझौता आयोजना सम्पन्न गरी कुल १ हजार ३ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ।
झापाको अनारमणिदेखि कंचनपुरको महेन्द्रनगरसम्म ४ सय केभि प्रशारणलाइन निर्माणको काम अगाडि बढाउने पनि सरकारको योजना छ। आगामी आर्थिक वर्षका लागि सबस्टेशन तथा प्रशारणलाइन आयोजनाका लागि ३६ अर्ब २ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।