काठमाडौं- सरकारले मध्य तराईको पूर्व–पश्चिम जोड्नेगरी हुलाकी राजमार्ग निर्माण गर्ने निर्णय गरेको थियो। उक्त राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण कार्यलाई तीव्रता दिएको हो। चालू आर्थिक वर्षमा सरकारले हुलाकी राजमार्गलाई १३ अर्ब ६३ करोड ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेका छन्। तराई क्षेत्रमा रहेको हुलाकी मार्गलाई स्तरोन्नति गरी पूर्व-पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा निर्माण गर्ने लक्ष्य सरकारले लिएको हो।
सरकारले उक्त आयोजनाको निर्माण आर्थिक वर्ष २०६५/६६ देखि सुरू गरेको थियो। आयोजनाको कुल लागत ४७ अर्ब २४ करोड लाग्ने अनुमान गरिएकोमा संशोधित लागत ६५ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
आयोजनाको कुल लम्बाई १ हजार ७ सय ९२ किमि रहेकोमा आर्थिक वर्ष २०७५/७६ सम्म २ सय ७० किमि कालोपत्रे तथा ३ सय २५ किमि ग्राभेल भएको थियो। उक्त राजमार्गमा पर्ने ८१ वटा पुल निर्माण सम्पन्न भएको छ। चालू आवको ६ महिनाको बजेट समिक्षा अवधिमा ९३ किमि सडक कालोपत्रे, ५० किमि सडक ग्राभेल र ५ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ।
३ सय किमि सडक र पुलतर्फ ६ वटाको ठेक्का सम्झौता भएको छ। चलू आर्थिक वर्ष २०७६/७७ मा यस आयोजनाका लागि विनियोजित १३ अर्ब ६३ करोड ७ लाख रुपैयाँ बजेटमध्ये ३ अर्ब १० करोड ४० लाख रुपैयाँ अर्थात बजेटको २२.९ प्रतिशतमात्र खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।