काठमाडौं- सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि बजेट घटाएको छ। चालु वर्षमा ७ अर्ब ३९ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी वर्ष त्यसलाई घटाएर ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
मेलम्चीको पानी साउनदेखि काठमाडौंमा वितरण गर्ने घोषणा गरिएको छ। चालु आर्थिक वर्षमा भने आयोजनाको खर्च धेरै हुन सकेको छैन। बजेटको मध्यावधी समीक्षासम्ममा आयोजनाको १० प्रतिशत बजेट खर्च भएको छ। लकडाउनका कारण अन्य आयोजनाको काम अघि बढ्न नसकेको भए पनि मेलम्चीको भने थोरै काम भइरहेको छ।
गत वर्ष नै सम्पन्न गर्ने भनिएको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने मिति अर्को वर्षलाई सारिएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मेलम्चीको पहिलो चरणको काम सम्पन्न हुने र दोस्रो चरणको काम आगामी वर्ष अघि बढाइने उल्लेख छ।
काठमाडौँ उपत्यकामा प्रतिदिन १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०५५/५६ बाट सुरू गरिएको हो। यस आयोजनाको संशोधित अनुमानित कुल लागत ३१२.९ मिलियन अमेरिकी डलर रहेकोमा आर्थिक वर्ष २०७५/७६ सम्म २७ अर्ब (करिब ८० प्रतिशत) खर्च भएको थियो।
आयोजनाको मुख्य सुरुङ तथा अडिटलगायतका खन्ने कार्य सम्पन्न भएका छन्। सुरुङको कंक्रिट कार्य ९९.९ प्रतिशत सम्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।