काठमाडौं- एनआईबीएल एस क्यापिटलले डिम्याट खाता र मेरो सेयर भएका ग्राहकहरुको वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने भएको छ। क्यापिटलले आफ्नो ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको हो।
क्यापिटलले व्यवसाय एवं स्टार्ट अपहरूलाई कोभिड–१९ बाट परेको प्रभावको लेखाजोखा, सम्भाव्यताको अध्ययन, विकल्पहरूको सुझाब र पुँजी व्यवस्थापन समेतमा सहयोग प्रदान गर्ने उद्देश्यले नयाँ दुईथरी एडभाइजरी प्रडक्ट समेत सञ्चालनमा ल्याएको छ।
महामारीबीच व्यवसायलाई थप विस्तार एवं विविधीकरण गर्दै परामर्श प्रधान सेवाहरू सञ्चालनमा ल्याएको हो। यस अन्तर्गत बिजनेस एसेसमेन्ट एन्ड इम्प्याक्ट एनालाइसिस नामक सेवाले ग्राहकलाई उनीहरूको व्यवसायमा महामारीको प्रभावको लेखाजोखा, विश्लेषण र परामर्शको सेवा दिनेछ। यसले ग्राहकलाई व्यवसाय जोगाउन चाल्नुपर्ने कदम, विविधीकरण एवं नवप्रवर्तनका सम्भावना देखाइदिनेछ।
साथै, व्यवसायको पुँजी जुटाउन र तत्कालीन समस्याको समाधानमा विकल्पहरूको खोजीमा समेत सहयोग गर्ने उद्देश्यले स्टार्टअप सेटअप एन्ड क्यापिटल फन्डिङ नामक सेवा ल्याएको छ। यो सेवाले ग्राहकलाई पुँजी जुटाउन, बजारको लेखाजोखा एवं वित्तीय सम्भाव्यताको अध्ययन गर्नमा सघाउ पुर्याउनेछ।
क्यापिटलले अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवनबीमा, निर्जीवन बिमा, माइक्रो फाइनान्स र जलविद्युत् कम्पनीहरूलाई आइपिओ, एफपिओ बिक्री प्रबन्ध तथा व्यवस्थापनको सेवाका साथै परामर्श सेवा प्रदान गर्दै आइरहेको छ।
क्यापिटलले हाल एनआइबीएल समृद्धि कोष–१, एनआइबीएल प्रगति फन्ड, नेपाल एनआइबीएल सहभागिता फन्ड जस्ता कोषहरूको प्रबन्ध एवं पोर्टफोलियो म्यानेजमेन्ट सेवा पनि दिइरहेको छ। एनआइबिएल एस क्यापिटल सेयरबजार तथा लगानी प्रबन्धको एउटा अग्रणी व्यावसायिक स्थापित संस्था हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।