काठमाडौं- रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भएकामध्ये एक युवकको शव फेला परेको छ। दुई अझै बेपत्ता भएका छन्। बुधबार नदीमा लोकेन्द्र सुनारको शव भेटिएको हो।
योसँगै अहिलेसम्म चार जनाको शव भेटिएको छ। जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।
तल्लो जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरूको विवाह अस्वीकार गरेपछि १९ जना युवा‚ केटीलाई लिन भनेर उनको गाउँ गएपछि स्थानीयले घेरा हालेर लखेटेका थिए। सो क्रममा नवराज विकसहित ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनारको शव भेरी नदीमा भेटिएको छ।
भेरी नगरपालिकाका सन्दीप विक र गोविन्द शाही अहिले पनि बेपत्ता छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको खोजी गरिरहे पनि अझै फेला पर्न सकेको छैन।
भेरी नदीमा हराइरहेकाको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल न. ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको सशस्त्र प्रहरीको हेडक्वाटरले जनाएको छ। उक्त टोलीले समेत अहिलेसम्म उनीहरुलाई फेला पार्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।