महामारी रोग कोभिड १९ को चपेटामा विश्वका अन्य देशसँगै हाम्रो देश पनि परेको छ। नेपालमा संक्रमितको संख्या पाँच सय नाघेको छ। संक्रमण ३८ जिल्लामा फैलिसकेको छ। जनघनत्व बढी भएको र खुला सिमाना रहेको क्षेत्रमा संक्रमण क्रमिकरूपमा बढ्दै गइरहेको छ।
यो रोगबाट ३ जनाको दुखद् मृत्युसमेत भइसकेको अवस्था छ। तीनै तहका सरकारहरू यस रोगको संक्रमण कम गर्न र क्षति न्यून गर्न पूर्ण क्षमतामा काम गरिरहेका छन्। यो संक्रमणको दर, मृत्यु संख्या, परीक्षणको संख्या र दायरा, प्रतिपादन गरिएका विधि, प्रबन्धहरूका विषयहरूमा सामाजिक सञ्जालहरूमा पक्ष र विपक्षमा अभिमतहरू जाहेर भइरहेका छन्।
बाँकेको नरैनापुरको क्वारेन्टाइनमा नै एक युवकको जेष्ठ ४ मा मृत्यु भएपछि क्वारेन्टाइनको गुणस्तर र सञ्चालनका विषयमा टिकाटिप्पणी भइरहेको अवधिमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संसदमा पेश भई संसदबाट पास भइसकेको छ। कोभिड-१९ लाई सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम जेठ १५ गते संसदमा पेश हुँदा प्राथमिकताका विषयहरू के-के हुनु पर्दछ भन्ने बिषय बहसमा छ।
सोसँग जोडिएका विषयहरू विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने,राहत वितरण र व्यवस्थापन, बजार विस्तार गरी रोजगारी बढाउने, स्वास्थ्य सुविधाहरूको अल्पकालीन, मध्यकालीन, दीर्घकालीन प्रबन्धहरू विकास विस्तार र सुदृढीकरण गर्ने, कृषिमा आत्मनिर्भर हुँदै आधुनिकीकरण र व्यावसायिकरण गर्ने, उद्योग, पर्यटन, यातायात क्षेत्रलाई ठूलो क्षति हुन नदिन सरकारी प्रयास केन्द्रित गर्नुपर्ने रहेका छन्।
कोभिड-१९ सँग जुध्दै अर्थतन्त्र र जनजीविकामा ठूलो असर पर्न नदिई कम क्षतिको अवस्थामा देशलाई स्थिर राखी यो अवस्थालाई अवसरको रूपमा परिणत गर्न सक्नु नै आजको मुख्य सवाल र आवश्यकता हो। त्यसैले आगामी बजेट र कार्यक्रम परम्परागत, क्रमागतभन्दा पनि रूपान्तरणकारी, अप्रिय र कठोर निर्णय लिन सक्ने खालको हुने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघले नेपाल २०२० अप्रिलमा नेपालले कोभिड-१९ को सामना गर्न कस्तो योजना बनाउनुपर्छ भन्ने विषयमा 'कोभिड-१९ नेपाल : प्रिपेयरनेस एन्ड रेस्पोन्स प्लान' (एनपिआरपी) पुस्तिका तयार गरी प्रकाशन गरेको छ। यो योजनामा कोभिड-१९ सम्बोधन गर्न मुख्यतः दिइएका १० वटा विषयलाई उत्तिकै प्राथमिकीकरण गरी काम गर्न सुझाब दिएको छ।
१. समन्वय योजना र अनुगमन
२. बचावट
३. जोखिम सञ्चार तथा समुदायको संलग्नता
४. स्वास्थ्य
- सर्वेक्षण, द्रुत प्रतिक्रिया, टोली परिचालन र मामिला अनुसन्धान
- देशको प्रवेश बिन्दु
- राष्ट्रिय प्रयोगशालाहरू
- संक्रमण रोग रोकथाम तथा नियन्त्रण
- संक्रमण र उपचार व्यवस्थापन
- अभियान सञ्चालन सहयोग र लजिस्टिकको प्रबन्ध
- प्रारम्भिक र प्रजनन स्वास्थ्य सुविधा
५. खाद्य सूरक्षा
६. खानेपानी, सरसफाइ तथा स्वच्छता
७. पोषण
८. शिक्षा
९. आश्रयस्थल
१०. सामाजिक/आर्थिक पुनर्प्राप्ति
यो प्लानमा चीनको हुवेइमा जस्तै संक्रमण नेपालमा फैलिएमा नेपालमा संक्रमितको संख्या १५ सय पुग्ने र इन्फ्लुएन्जा फैलिए जस्तै व्यापकरूपमा संक्रमण फैलिएमा १५ हजार पुग्ने अनुमान गरिएको छ। अनुमानित संक्रमित संख्यामा पनि कुन उमेर समूह, लिंग, रोग भएका, गर्भवती महिलाहरूको संख्या पनि अनुमान गरिएको छ। साथै आठवटा नेपाल प्रवेश बिन्दूमा र स्वास्थ्य सुविधाहरूका प्रबन्धको पनि उल्लेख गरिएको छ।
सरकारी संयन्त्र, विकास साझेदार र गैरसरकारी संस्थाहरूको हालको अवस्था विश्लेषण गरी प्रत्येक विषयहरू र स्तम्भहरूमा सरकारी नेतृत्वदायी, विकास साझेदारहरूको सह-नेतृत्वदायी र क्षेत्रगत सदस्यहरूको जिम्मेवारी क्रियाकलापसहित उल्लेख गरी प्रारम्भिक बजेट समेत प्रस्ताव/अनुमान गरिएको छ।
अतः हालसम्म, कोभिड-१९ को अवस्था विश्लेषण गर्दा तीनै तहका सरकारहरूका प्रयासहरू एनपिआरपीमा उल्लेख गरेका १० वटै विषय स्तम्भहरूलाई समान प्राथमिकता नदिई केही विषयहरूमा मात्र केन्द्रित गरेको देखिन्छ। नेपालको नीति तथा कार्यक्रमको सफलता वा असफलतामा धारणा कायम गर्नुभन्दा अगाडि सो योजनामा उल्लेख गरिएअनुसार देशको समग्र सरकारी, गैरसरकारी संयन्त्र, विकास साझेदार, समाज, निजी क्षेत्र, नागरिकहरूले आ-आफ्नो स्थानबाट योगदान गर्न सक्ने स्तम्भहरूमा के कति योगदान पुर्याउन सकियो भनि आत्मसमीक्षा गर्न आवश्यक देखिएको छ।
यस महामारी रोकथामको अभियानमा सम्भव भएसम्मको योगदान दिनु देश र समयको आवश्यकता हो। आगामी बजेटले यो अभियानमा सबैलाई जुट्न सक्ने प्रवन्ध मिलाउने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा छुट्न गएका वा मुख्य प्राथमिकतामा पर्न नसकेका एनपिआरपीका सबै विषय र स्तम्भहरूमा संक्रमणको दरको आजको यथार्थबाट भविष्यको आकलन गरी बजेट कार्यक्रम प्रस्ताव गर्नु नै कोभिड-१९ महामारीबाट नेपाललाई मुक्त गरी समृद्ध नेपाल सुखी नेपालीको यात्रामा नेपाललाई उन्मुख गराउने कोशेढुंगा सावित हुने देखिन्छ।
(घिमिरे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।