काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार लिएको लक्ष्यमध्ये अधिकांश पूरा हुने सकेको छैन। नौ महिनाको अवधिमा पूरा हुन नसकेको लक्ष्य बाँकी तीन महिनामा पनि कोरोनाको कारणले पूरा हुन सक्ने अवस्था छैन। मौद्रिक नीतिले चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई ६ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएको थियो।
चालु आवको नौ महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ६.५३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो। तरकारी मसला फलफूल दाल तथा गेडागुडी शिक्षा स्वास्थ लुगा तथा जुत्तालगायतको मूल्यमा भएको वृद्धिका कारण समग्र उपभोक्ता मुद्रास्फीतिमा केही चाप पर्न गएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
मौद्रिक नीतिले कम्तिमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएको थियो। लकडाउनका कारण आयात रोकिँदा नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा धेरै समयको सामान तथा वस्तु आयात गर्न सक्ने सञ्चिति रहेको छ। चैत मसान्तमा रहेको विदेशी विनिमय सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रहेको छ। यसले १०.७ महिनाको वस्तु तथा आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकको आँकलन छ।
मौद्रिक नीतिले नेपाल सरकारले तय गरेको ८.५ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पुर्याउने गरी आवश्यक मौद्रिक तरलताको व्यवस्था गर्ने लक्ष्य लिएको थियो। तर केन्द्रीय तथ्याङ्क विभागले यस वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमात्रै रहने प्रक्षेपण गरिसकेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा कुल आन्तरिक कर्जा १६.८ प्रतिशत र मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५.४ प्रतिशतले बढेको छ।
मौद्रिक नीतिले विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई १८ प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिएको थियो। वार्षिक बिन्दुगत आधारमा चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १५.३ प्रतिशतले बढेको छ। त्यस्तै मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तारको सीमा २१ प्रतिशत राख्ने लक्ष्य लिएको छ। नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले नौ महिनासम्ममा सम्पन्न गरेका प्रमुख कार्यहरू
मौद्रिक व्यवस्थापन, आर्थिक वर्ष २०७६/७७ को चैतमसान्तसम्ममा राष्ट्र बैंकले ५८ अर्ब तरलता प्रशोचन गरेको छ। चैत मसान्तसम्ममा राष्ट्र बैंकले १८६ अर्ब ८३ करोड तरलता प्रवाह गरेको छ। यसमध्ये रिपोर्टमार्फत ११३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधा मार्फत ७३ अर्ब ६ करोड प्रवाह गरेको छ।
यसैगरी विदेशी विनिमय बजार ‘वाणिज्य बैंकहरू’बाट दुई अर्ब ६७ करोड अमेरिकी डलर खरिद गरी ३०५ अर्ब ८६ करोड खुद तरलता प्रवाह गरेको छ।
विदेशी विनिमय व्यवस्थापन, कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १०३८ अर्ब ९२ करोड रुपैयाँबाट ११.३ प्रतिशतले वृद्धि भई २०७६ चैत मसान्तमा ११५५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तको तुलनामा २०७६ चैतमसान्तमा ९३ अर्ब ६४ करोड रुपैयाँले वृद्धि भई ९९६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७६/७७ को चैत महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.७ महिनाको वस्तु आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
मर्जर तथा प्राप्तिको परिणामस्वरुप नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७६ चैत मसान्तमा १६२ कायम भएको छ। यसमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त विकास बैंक र पूर्वाधार विकास बैंकहरुको संख्या क्रमशः २७, २३, २२, ८९ र १ रहेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराए पश्चात् २०७६ चैत मसान्तसम्ममा कुल १८७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्राप्ति प्रकृयामा सामेल भएका छन्। यसमध्ये १४२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४५ संस्था कायम रहेका छन्।
वित्तीय सेवाको माग पक्षलाई सुदृढीकरण गर्न वित्तीय साक्षरता कार्यक्रम र विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ। यस आर्थिक वर्षको २०७४, चैत मसान्तसम्म २४ वटा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन भइसकेका छन्।
यसबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका महिला, गरीब, विद्यार्थी तथा पिछडिएका वर्गका सर्वसाधारण लाभान्वित भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको अनुसन्धान विभागले मुलुकको प्रमुख आर्थिक तथा वित्तीय सूचकाङ्कहरूको जानकारी दिने मासिक प्रकाशन 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' को २०७६ चैतको अङ्क सार्वजनिक गरेको छ। यसैगरी वित्तीय पहुँचको स्थिति, विप्रेषण आप्रवाहको स्थिति, वैदेशिक व्यापार प्रवृत्ति, साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालनसम्बन्धी अध्ययन प्रतिवेदनहरू पनि सार्वजनिक गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।