काठमाडौं- सर्लाही जिल्लामा कोरोना संक्रमितको संख्या २० पुगेको छ। शुक्रबारमात्र उक्त जिल्लामा १५ जना थपिएका छन्। यसरी शुक्रबार थपिएका सबै संक्रमित दुई स्थानीय तहका छन्। सर्लाहीको गोडैता नगरपालिका र रामनगर बहृुअर्बा गाउँपालिकाका रहेका छन् । भारतसँग सीमा जोडिएको सर्लाहीको दुई स्थानीय तहमा शुक्रबार बिहान १५ जना कोरोना संक्रमण पुष्टि भएको हो। योसहित जिल्लामा संक्रमितको संख्या २० पुगेको छ।
गोडैता नगरपालिकाका १४ जना र रामनगर गाउँपालिकाका एक जना गरी १५ जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो। यसरी कोरोना संक्रमित हुनेहरू भारतबाट मजदुरी गरेर नेपाल फर्केका मजदुरहरु भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। संक्रमितहरु १८ वर्षदेखि ३९ वर्षसम्मका छन्। भारतीय सीमामा अलपत्र परेका उनीहरू केही दिनदेखि नेपाली क्वारेन्टाइनमा रहेको जिसीले बताए। नेपालीहरू भारतीय सीमावर्ती बजारमा अलपत्र परेपछि सम्बन्धित स्थानीय तहहरुले आफ्ना नागरिकलाई उद्दार गरेर क्वारेन्टाइनमा राखेको थियो।
गत मंगलबार क्वरेन्टाइनमा बस्दै आएका गोडैताका ८१ जना र रामनगरका ५ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो। जसमध्ये गोडैताका १३ जना पुरुष र एक जना महिला तथा रामनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ जिसीले बताए।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी रहेको उनले बताए। कोरोना संक्रमितहरुलाई अब प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए। उनले संक्रमित क्वरेन्टाइनमा बस्दै आएकाले समुदायको ट्रेसिङ गर्नुपर्ने अवस्था नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।