काठमाडौं- मंगलबार नवलपरासी स्थायी ठेगाना भएकी काठमाडौं कलंकी बस्ने एक महिलामा कोरोना पोजेटिभ देखियो। उनलाई त्यतिबेलै सशस्त्र प्रहरीको आइसोलेसन सेन्टरमा पठाइयो।
संक्रमित भेटिएको घरका अन्य भाडावाल, आफन्त र घरबेटीलाई लागेको थियो- स्वास्थ्य मन्त्रालयको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएकाहरुको जाँचका लागि नमुना संकलन गर्ला र उक्त एरिया सिल पनि गर्ला।
संक्रमित भेटिएको तीन दिन पुग्यो। तर मन्त्रालयको कोही त्यहाँ पुगेको छैन। लगातार तीन दिनदेखि मन्त्रालयमा फोन गर्दा समेत वास्ता भएको छैन। ती महिला बस्ने घरधनी विष्णु गौतम (नाम परिवर्तन) आफूहरु नै सचेत भएर मन्त्रालयदेखि मेयरसम्मलाई फोन गरेको बताउँछन्। तर कसैले वास्ता नगरेर आफूहरुलाई समस्या परेको गुनासो गर्छन्।
आफ्नो घरमा बस्ने डेरावालका श्रीमान्-श्रीमती केही दिनअघि नवलपरासीबाट बाइकमा काठमाडौं आएको उनले बताए। आफ्नै पहलमा उनीहरुलाई जाँच गर्न पठाउँदा श्रीमतीको पोजेटिभ आएपछि उपचारका लागि पठाए।
एउटै घरमा बस्ने भएकाले उनीहरुले इनारदेखि भर्याङसमेत एउटै प्रयोग गरिरहेका थिए त्यसअघि। ती महिलाको कोरोना पुष्टि भएपछि त्यहाँ बस्ने अरु डेरावाल र धरधनीको परिवार गरी १० जना छन्। उनले भने, 'हामीसँग ८४ वर्षीया आमादेखि ४ वर्षका बच्चासम्म छन्। हाम्रै भाडावालमा कोरोना देखिएपछि आइसोलेसनमा बसेका छौं तर हाम्रो स्वाब संकलन गर्न बोलाउँदा पनि कोही आउँदैनन्।'
उनले वडाअध्यक्षलाई बोलाए। स्वास्थ्य मन्त्रालयको हटलाइनमा समेत पटकपटक फोन गरे। मन्त्रालयमा फोन रिसिभ गर्नेले आफूले गुनासो टिपेर सम्बन्धित ठाउँमा पठाइसकेको उत्तर दिएका छन्। तर मन्त्रालयले कुनै वास्ता गरेको छैन। उनी भन्छन्, 'आफैं निस्केर जँचाउन जाउँ, हामीसँग भए अरुलाई सर्ला भन्ने डर लाग्छ। बुढी आमा समेत भएकाले हिँडेर जान सम्भव छैन।'
उक्त टोलका अरु बासिन्दा समेत त्रसित छन्। उनीहरु आएर घरमा मात्रै बसेनन्। तरकारीदेखि खाद्यान्नसम्म किन बाहिर निस्केका होलान्। 'संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण गरिदिए ढुक्क भइन्थ्यो,' घरधनीले भने।
सोही दिन पोजेटिभ भएका अर्का बालक समेत अर्को दिन आफैं टेकु पुगेका थिए। स्थायी ठेगाना लमजुङ भई काठमाडौंमै बस्ने उनलाई स्वास्थ्य मन्त्रालयको ट्रेसिङ टिमले खोजेन। बालकका आमा-छोरा र मामा आफ्नो रिपोर्ट माग्न आफैं टेकु पुगेका थिए। रिपोर्ट थाहा पाउनुअघि उनीहरु संक्रमित भइसकेका बालकसँगै थिए।
ट्रेसिङमा पनि फेल भएको हो मन्त्रालय?
रिपोर्ट पोजेटिभ आएपछि तुरुन्तै सम्पर्कमा ल्याएर अरुलाई सार्न नदिने उपाय अपनाउनुपर्ने मन्त्रालयको बेवास्ता दोहोरिन थालेको छ। कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ६ ‘टी’ को रणनीति अघि सारेका थिए। ती ट्राभल रेष्ट्रिक्सन, टेष्टिङ, ट्रेसिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर हुन्।
ट्रेसिङ तेस्रो नम्बरमा छ। तर टेस्टिङ र ट्रेसिङ कोरोना नियन्त्रणका लागि सबैभन्दा जरुरी विषय रहेको विज्ञहरुले बताउँदै आएका छन्। बिरामीको नागरितामा रहेको होइन, हाल बसिरहेको ठेगाना संकलनमा निरन्तर चुक्दै आएको छ मन्त्रालय। आफूलाई पनि अहिले सबैभन्दा खट्केको विषय ट्रेसिङ रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन्।
बिरामी रहेको स्थान पत्ता लगाएर उनको सम्पर्कमा आएकाहरुलाई तुरुन्तै आइसोलेसनमा बस्न लगाएर स्वाब समेत संकलन गरिसक्नुपर्छ। डा सुवेदीका अनुसार संक्रमितसँग १५ मिनेट गफ गरेको २ फिट नजिक बसेको मान्छेको तुरुन्तै चेकजाँच हुनुपर्छ।
तर, मन्त्रालयको सम्पर्कमा संक्रमितसँग हेलमेल रहेकाहरु पुग्दा समेत बेवास्ता हुन थालेको छ। जसले संक्रमणको जोखिम अझै बढाउने देखिएको छ।
मन्त्रालयको बेवास्ताको परिणाम
कन्ट्याक्ट ट्रेसिङका लागि ठूलो संख्यामा जनशक्ति चाहिने कुरा विज्ञहरुले नेपालमा कोरोना संक्रमण सुरुवात भएदेखि नै बताउँदै आएका छन्। आफूहरुले साढे ३ महिनाअघि नै दुई-तीन हजार जनाको दस्ता चाहिने सुझाव दिएको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन्। उनी भन्छन्, 'समुदायस्तरमा जनशक्ति छैन। तयार पारेर राख्नुपर्छ भनेर त्यतिबेलै भनिएको हो।'
यसैगरी संघीय संसदमा फागुन २३ गतेदेखि निरन्तर रुपमा ट्रेसिङको प्रणाली बलियो बनाउन सांसदहरुले माग गरेका छन्। सांसदहरुले कम्तीमा एक हजार जना जनशक्ति तयार गर्न संसद र मन्त्री स्वयंलाई भेटेर सुझाव समेत दिएका थिए। संसदमा पटकपटक उठेको छ, 'कन्ट्याक्ट ट्रेसिङ पनि परीक्षण जस्तै महत्वपूर्ण हुन्छ।' तर मन्त्रालयले यसमा ध्यान दिन सकेन। सीमित जनशक्तिको भरमा काम चलाइरहेको मन्त्रालयलाई यतिबेला समस्या परेको छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि खटिइरहेकाहरु पनि तीन दिनदेखि सेल्फ क्वारेन्टाइनमा बसेर काम गर्नुपर्ने अवस्था बनेको छ। उक्त समूहसँग रहेर काम गरिरहेका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि फिल्डमा खट्न सक्ने अवस्था नबनेको मन्त्रालयका अधिकारी बताउँछन्।
विश्व स्वास्थ्य संगठनले विभिन्न स्वास्थ्य संस्था र मन्त्रालय अन्तर्गत काम गरिरहेका डेढ सय जनालाई कन्ट्याक्ट ट्रेसिङबारे तालिम दिएको छ। तर त्यो जनशक्तिको उपयोग समेत हुन सकिरहेको छैन। डा सुवेदी भन्छन्, 'डब्लुएचओले तालिम दिएका डेढ-दुई सय त ट्रेनर छन् रे। उनीहरुले मन्त्रालयमा लिष्ट पनि दिएका छन् रे। तर उनीहरुको सिप उपयोगमा आएन।'
निर्देशिका कार्यान्वयन गर्न महानगरलाई समेत समस्या
संघीय संरचना कन्ट्याक्ट ट्रेसिङमा असफल हुने थालेपछि केही दिनअघि वैशाख ३० गते स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ गर्ने केस अनसुन्धान तथा कन्ट्याक्ट खोजपड्ताल टिम गठनका लागि निर्देशिका बनेको छ। तर उक्त निर्देशिका कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकालाई समेत समस्या परेको छ। त्यसैले हालसम्म ट्रेसिङ समिति गठन गर्न सकेको छैन। उक्त टिममा एक-एक जना जनस्वास्थ्य अधिकृत (जनस्वास्थ्यमा कम्तीमा स्नातक तह), पारामेडिक्स तथा ल्याब टेक्निसियन वा ल्याब असिस्टेन्ट हुने बताइएको छ।
महानगरपालिकाका एक कर्मचारी निर्देशिकाले तोकेअनुसारको जनशक्ति महानगरसँग समेत नभएको बताउँछन्। उनी भन्छन्, 'निर्देशिकामा तोकिएअनुसारको जनशक्ति हामीसँग छैन। त्यसैले टिम गठन गर्न सकिएको छैन। यसबारे हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत जानकारी गराइसकेका छौं।'
देशभरका स्थानीय तहमा १०७५ वटा समूह बनाउने लक्ष्यसहित निर्मित उक्त निर्देशिका अनुसारका जनशक्ति परिपूर्ति गर्न मुश्किल भएका कारण तत्काल काम हुने सम्भावना छैन।
कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको छ। तर कन्ट्याक्ट ट्रेसिङ जस्तो महत्वपूर्ण कार्य कसरी अघि बढाउने भन्नेमा स्वास्थ्य मन्त्रालय अलमलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।