जुम्ला- जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टाइन रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको हो। यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा सुरक्षा अभावले नागरिक बस्न नमान्ने र बसेका पनि १४ दिन अभावै घर जाने गरेकाले जिल्लामै एकीकृत क्वारेन्टाइन निर्माण गरी त्यसको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।
बाहिरबाट आएपछि अनिवार्य रुपमा जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाएको छ। देशभित्र र भारतबाट आएका १४ जना एकीकृत क्वारेन्टाइनमा थपिएका छन्।
भारतको पिथौँरागढदेखि बाजुरा जिल्ला हुँदै मुगु भएर कनकासुन्दरी गाउँपालिकामा आएका ६ जनालाई एकीकृत क्वारेन्टाइनमा राखिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। उनले भने 'त्यस्तै तिलाका तीनजना र सिञ्जाका पाँचजनालाई पनि एम्बुलेन्समा ल्याएर क्वारेन्टाइनमा राखिएको हो।'
यसअघि भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको एकीकृत क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए।
उनका अनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
लकडाउन अवधिभर जिल्लामा ११ हजार २११ जना भित्रिएका छन्। जिल्ला भित्रिएका नागरिकमध्ये ३५ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार २२४ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। एक हजार ५५४ को पिसिआर र २६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।