काठमाडौ– उत्तरी छिमेकी देश चीनले नेपाल–भारतको सीमा विवाद एकआपसमा परामर्शबाट सुल्झियोस् भन्ने चाहेको बताएको छ। उसले भनेको छ, ‘हामी मैत्रीपूर्ण ढंगमा विवाद सकियोस् भन्ने चाहन्छौं।’
बेइजिङमा मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस्तो प्रतिक्रिया दिएका हुन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले सीमा क्षेत्रमा भइरहेका कामकारवाहीलाई रोक्न समेत सुझाएका छन्। नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘सीमानामा एकतर्फी भइरहको काम रोक्नुपर्छ।’
पत्रकार सम्मेलनमा ‘नेपाल–भारतको सीमा क्षेत्रको विवाद र यसको सन्दर्भमा भारतीय सेना प्रमुख एमएम नरवानेको टिप्पणी’बारे केही बोल्न भनिएको थियो। जवाफमा चिनियाँ प्रवक्ताले ‘यो विवाद नेपाल र भारतको रहेकोले दुवै देशले छलफलबाट समाधान निकालुन्’ भनेको एक चिनियाँ वेब साइटमा उल्लेख गरिएको छ।
भारतले लिपुलेक जोड्ने सडकको औपचारिक उद्घाटन गरेलगत्तै नेपाल सरकारको कुटनीतिक नोट सतहमा आएपछि भारतीय सेना प्रमुखले ‘नेपालले अरुकै इशारामा लिपुलेक सडकको विरोध गरेको’ प्रतिक्रिया दिएका थिए। सिधै चीनको नाम नलिएपनि भारतीय सेनाप्रमुख नरवानेको आशय चीनप्रति इङ्गित थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।