काठमाडौं- मन्त्रीपरिषद्बाट नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा सीमाको नाप नक्सांकन गर्ने प्राविधिक, नापी विभागका पूर्व महानिर्देशकहरुसँग आज (मंगलबार) मन्त्रालयमा छलफल गरेकी छन्।
नेपालले आफ्नोतर्फबाट नक्सा सार्वजनिक गरिसकेपछि छिमेकी मुलुक भारतसँग वार्तामा बस्दा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल भएको जनाइएको छ। मन्त्री अर्यालले भनिन्, ‘हामीले नक्सा बनायौं। अब जमिन फिर्ता ल्याउन बाँकी छ। वार्तामा बस्ने वातावरण बनेपछि उच्च तहबाट वार्ता गरेर जाने भन्ने मनसायले नै हामी अगाडि बढेका हौं। हाम्रो भूमी फिर्ता ल्याउछौं।’
विज्ञहरुले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा सिधै ल्याउने वातावरण बनाउन सक्नुपर्ने राय दिए। उक्त कार्य राज्यको माथिल्लो तहबाटै हुनुपर्ने सुझाव दिएका छन्। नेपाल सरकारले निकालेको नक्सा नै आधिकारिक भएको तथ्यबाट सरकारले पुष्टि गर्न सुझाव विज्ञ हरुले दिएका छन्।
नेपालको तर्फबाट सबै सहयोगी दस्तावेजहरू संकलन गर्नुपर्ने र गलत दस्तावेजलाई स्किप गर्नुपर्ने उनीहरुको भनाइ थियो। हाम्रो सीमाना यो हो भनेर यथेष्ठ प्रमाणहरु संकलन गरेर भारतसँग वार्ता गर्नुपर्ने सीमाविद्हरुको तर्क थियो। लिम्पियाधुराको सिमानामा भर्खरै सरकारले सशस्त्र प्रहरी पोष्ट स्थापना गरेपनि सीमा रक्षामा सेनाको नै खटाउन सुझाव दिए। प्राविधिक रुपमा बलियो भएर नेपालको तर्फबाट वार्तामा जानुपर्ने विज्ञहरुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।