काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ३२ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
उनका अनुसार कोशी अस्पतालमा भर्ना भई उपचारपछि झापाका एक व्यक्ति मंगलबार डिस्जार्च भएका छन्। यो सँगै डिस्जार्च हुनेको संख्या ३७ पुगेको छ। हालसम्म संक्रमित व्यक्तिको अस्पताल बसाई औसतमा १९ दिन रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए।
परीक्षणको दायरा बढाउने भन्दै मन्त्रालयले अब तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क पिसिआर परीक्षण गर्न सकिने भएको छ। ती स्वास्थ्य संस्थाले आफ्नो मापदण्डअनुसार पिसिआर परीक्षणको शुल्क निर्धारण गर्ने मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी कुल ४ सय ५७ जना अस्पतालको आइसोलेसनमा छन्। मुलुकभर हाल २१ ह्जार ६ सय २३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।