फाइल तस्वीर
काठमाडौं- सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन गृहकार्य सुरु गरेको छ। मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा गृहकार्य थाल्ने निर्णय गरेको हो।
भारतलगायत खाडी मुलुकमा अलपत्र परेका नेपाललाई कसरी स्वदेश फर्काउने विषयमा गृहकार्य गरी प्रक्रिया थाल्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए। ‘विदेशमा रहेका नेपालीले स्वदेशमा आउन पाउनुपर्यो भनिरहेका छन्। सबैलाई एकैपटक ल्याएर सुरक्षित तरिकाले राख्न सक्ने अवस्था छैन‚’ बिडारीले भने, ‘स्वदेश आउने सबै नेपालीको संख्या यकीन गर्छौं। कस्तो कस्तो कन्डिसनकालाई पहिलो प्राथमिकता दिएर ल्याउने भन्ने विषयमा मापदण्ड बनाएपछि प्रक्रिया अगाडि बढाउँछौं।’
विदेशमा रहेका सबै नेपालीको स्वास्थ्य परिक्षण गरी क्वारेन्टाइनमा समेत राख्ने व्यवस्था गरिने बिडारीले बताए। ‘सबैलाई ल्याउने भनेर एकैपटक ल्याउँदा संक्रमण बढ्ने खतरा हुन्छ। एक एकगरी स्वास्थ्य जाँज गर्नुपर्यो। यहाँ ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने हुन्छ।’ बिडारीले भने, ‘विदेशमा रहेका नेपाली ल्याउने सम्बन्धमा मापदण्ड बनाएपछि एक एकगरी स्वदेश फर्काउने व्यवस्था गर्छौं।’
भारतलगायत विदेशबाट आउने नेपालीबाट थप संक्रमण बढ्नसक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने बताएका छन्। विदेशमा रहेका सबै नेपालीलाई एकैपटक फर्काउन सम्भव नभएको ओलीले बताए। ‘तपाईंले भनेजस्तो एकैपटक सबै देशमा छरिएका नेपालीलाई एकैपटक ल्याउन गाह्रो हुन्छ। त्यो अप्ठ्यारो बुझ्नुभएको छ‚’ ओलीले भने, ‘प्रक्रियागत रुपमा सबै नेपालीलाई एक एकगरी स्वदेश फर्किने वातावरण बनाउँछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।