काठमाडौं- बाह्रबिसे- ९ राम्चेमा स्वाब संकलन गरी पठाइएका ५६ जनामध्ये ५३ जनाको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। योसँगै उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।
स्वाब संकलन गरिएको परिवारका सदस्य र महिलासँग प्रत्यक्ष सम्पर्क भएका छिमेकी तथा स्थानीयमध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए।
बाँकी तीन जनाको रिपोर्ट क्लियर नआएका कारण सोमबार पुनः स्वाब संकलन गरेर पठाइएको उनले बताए। सोमबार स्वाब संकलन गरिएका १ सय ४१ जनाको रिपोर्ट भने आउन बाँकी छ। हिजो १ सय ३३ जनाको राम्चे, बाह्रबिसे बजार र प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाब संकलन गरिएको थियो।
बाँकी आठजनामध्ये सुनकोशी गाउँपालिका ४ बाट ६ जना र साविकको ठोकर्पाबाट २ जनाको स्वाब संकलन गरिएको थियो। सुत्केरी बोकेको बोलेरो चालकका श्रीमती सोही गाडीमा चढेर सुनकोशी ४ यमुनाडाँडा माइती गएकाले उनको माइतीतर्फका व्यक्तिको स्वाब संकलन गरिएको हो।
बाँकी २ जना सुत्केरी महिला भेट्न राम्चे गएका थिए। उनीहरुलाई सुकुटे बोलाएर स्वाब संकलन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।