सदरमुकाम दमौली बजार आज मंगलबारदेखि लागु हुने गरी हप्ताको चार दिन तीन घण्टाका दरले खुल्ने भएको छ । यसअघि दैनिक समयावधि तोकी पसल खुलाउने गरे पनि मानिसको चहलपहलमा वृद्धि हुँदै गएपछि न्यूनीकरणका लागि समयावधि घटाइएको हो।
व्यास नगरपालिका बजार अनुगमन समितिले यही जेठ ६ गतेदेखि लागु हुने गरी हरेक हप्ता सोमबार, मंगलबार, बुधबार र बिहीबार बिहान ११ देखि अपराह्न २ बजेसम्म दमौली बजार क्षेत्र खुला राखिने निर्णय गरेको समितिका संयोजक एवं नगर उपप्रमुख मीरा जोशीले जानकारी दिए।
क्वारेन्टिनमा बस्ने बढ्दै
पछिल्लो समय क्वारेन्टिनमा बस्ने पुनः उकालो लाग्न थालेको छ । शून्य अवस्थामा पुगेको तनहुँमा कोरोना संक्रमित रेडजोनबाट मानिस आआफ्नाघर आउने क्रम जारी रहेपछि क्वारेन्टिनमा बस्नेको संख्यामा वृद्धि भएको हो । जिल्लामा हाल दुई महिलासहित ४३ जना क्वारेन्टिनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।
तनहुँमा हालसम्म ५८६ पुरुष र ८२ महिलाको आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी २४ पुरुष र १५ महिला गरी ३९ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पाँच जनाको आउन बाँकी रहेको प्रमुख अधिकारीले बताए। त्यस्तै जिल्लाका विभिन्न हेल्थ डेस्कबाट ४९३ महिलासहित एक हजार ९०७ जनाको तापक्रम मापन गरिएको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।