काठमाडौं- बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ५९ संक्रमितहरुलाई अझै ‘आइसोलेसन'मा राखिएको छैन।
बाँकेको विकट मानिने सो गाउँपालिका नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा छ। सोमबार दिउसो संक्रमण पुष्टि भएका ४६ पुरुष र एक महिला तथा राति पुष्टि भएका १२ पुरुषलाई अझै कहाँको आइसोलेसनमा राख्ने भन्नेबारे निर्णय हुन नसकेको बताइएको छ।
स्रोतका अनुसार सोमबार साँझ बाँके सुरक्षा समितिको बैठक बसी नरैनापुर गाउँपालिका २ मा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राख्ने निर्णय गरेको भए पनि गाउँपालिकाले बिजुली बत्तिको समेत सुविधा नभएको ठाउँमा राखेर थप स्वास्थ्य समस्या आउँदा गाह्रो हुने बताएको थियो।
अहिलेसम्म गाउँपालिकाका पदाधिकारीलाई क्वारेन्टाइनमा रहेको कोको ५९ व्यक्ति संक्रमित हुन् भन्ने समेत थाहा छैन। गाउँपालिकाको दीपेन्द्र प्राविमा रहेका २६३ जनाको स्वाबको परीक्षण गरिएको थियो। दिउँसोसम्म १९० जनाको परीक्षण रिर्पोटमा ५६ जनाको पोजिटिभ आएको थियो। जसमध्ये एक जनाको आइतबार मृत्यु भइसकेको छ।
राति थप १२ जना थपिएसँगै नरैनापुरमा संक्रमण पुष्टि हुनेको संख्या ६८ पुगेको छ।
क्वारेन्टाइनमा रहेका कोको संक्रमित हुन भन्ने थाहा नभएका कारण क्वारेन्टाइनमा बसेका व्यक्तिहरु नै एक आपसमा सशंकित बन्न थालेको बताइएको छ। ५९ संक्रमित अहिले पनि अन्य संक्रमण नभएका व्यक्तिहरुकै बीचमा बसिरहेका छन्।
बाँके जिल्ला सुरक्षा समितिले समेत सोमबारको बैठकबाट सो पालिकालाई कोरोनाको उच्च जोखिम युक्त क्षेत्र घोषणा गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि 'सिल' गर्ने निर्णय गरेको छ।
यद्यपि, सो बैठकले ती संक्रमितलाई कहाँ राख्ने भन्नेबारे कुनै निर्णय गर्न भने सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।