एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ।
सो रकम दुई वर्षभरीमा कोरोना भाइरसविरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिए।
विश्वभरी कोरोना भाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको हो।
विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरससम्बन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए।
‘हामी कोरोना भाइरसको नियन्त्रण र उपचारसम्बन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौं, हामी हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं,’ उनले भने।
संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात अघि बढाएको हो।
अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो। विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।