काठमाडौं- जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको नरैनापुर गाउँपालिका पूरै सिल गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रशासन कार्यालयले एक सूचना जारी गर्दै पूरै गाउँपालिका सिल गर्ने निर्णय भएको जानकारी दिएको छ।
अब गाउँपालिकामा अनुमतिप्राप्त बाहेक कसैले पनि हिँडडुल गर्न पाउने छैनन्। एकैदिन ४७ जना कोरोना संक्रमित देखिएपछि गाउँपालिका सिल गरिएको प्रशासन कार्यालयको भनाइ छ।
जिल्ला सुरक्षा समिति बाँकेको जेठ ५ गते बसेको बैठकले नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका ५६ जनामा कोरोना पोजिटिभ देखिएको र एकजनाको मृत्यु समेत भइसकेकाले सो क्षेत्रलाई उच्च जोखिम युक्त क्षेत्र घोषणा गरि सिल गर्ने निर्णय गरेको हो।
बैठकले सो गाउँपालिकाका सबै वडाहरुमा अत्यावश्यक हुने बाहेकका सम्पूर्ण आवागमनमा रोक लगाउँदै पुरै गाउँपालिकालाई अर्को सुचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।
नरैनापुर गाउँपालिकाका १३ क्वारेन्टाइनमा ८१४ व्यक्तिहरु बसेका छन्। उनीहरु अधिकांश भारतबाट आएका हुन्। त्यसमध्ये पनि अधिकाशं मुम्बईबाट आएका व्यक्तिहरु छन्।
जेठ १ गते ८ जना र जेठ ५ गते गरी त्यहाँ ५४ जना व्यक्तिमा संक्रमण भइसकेको छ। सोमबार ८१ वटा नमुनाको परीक्षण भइरहेको बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।