काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम वास्तविकताभन्दा पनि अनावश्यक लामो र पट्यारलाग्दो भएको टिप्पणी गरेका छन्। नेपाली काग्रेसका सांसदहरु जितेन्द्र नारायण देव, प्रमिलाकुमारी देवकोटा र प्रकाश पन्थले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका हुन्।
राष्ट्रियसभामा दर्ता भएको संशोधन प्रस्तावमा बोल्दै उनीहरुले कोरोना महामारीलाई सामाना गर्ने र अर्थतन्त्रलाई उकास्ने कार्यक्रम नभएको टिप्पणी गरेका छन्।
जितेन्द्रनारायण देव
कोरोना भाइरसका कारण अहिले पूरै विश्व विशिष्ट किसिमको अवस्थामा रहेको छ। सरकारले सरकारले ल्याएको यो नीति तथा कार्यक्रमले यसलाई समेट्न सकेको छैन। आर्थिक रुपमा असफलतातिर देश गइरहेको छ तर सरकारको नीति तथा कार्यक्रम पुरातन शैलीमा आएको छ। देश भोकमरीको अवस्थामा जाँदै छ। त्यसलाई सम्बोधन गर्ने कुनै कार्यक्रम छैनन्। अहिले जसरी प्रस्तुत हुनुपर्ने थियो, त्यस्तो पाइएन। अनावश्यक रुपमा ठूलो मात्र बनाइएको छ। प्राथमिकीकरण हुन सकेको छैन। जे पनि हालेर मनचिन्ते झोला जसरी नीति तथा कार्यक्रम ल्याइएको छ।
अहिले धेरैभन्दा धेरै काम कोरोना नियन्त्रण, आर्थिक पुनरुत्थान र रोजगारीमा केन्द्रित गरेर ल्याउनुपर्ने थियो। पिसिआर टेष्ट र क्वारेनटाइन निर्माणका साथै विदेशमा रहेका नेपाली ल्याउने ठोस कार्यक्रमा आएको छैन। अब छिट्टै भोकमरी आउँदैछ। अर्थशास्त्रीहरुले यसमा सचेतता अपनाउन आग्रह गरेका छन् तर सरकारले यसमा ध्यान दिन सकेन। जिडिपीको २ प्रतिशत प्याकेज ल्याउनुपर्नेमा त्यो गरेको छैन। उद्यमीहरु निराश भएका छन्। आर्थिक प्याकेज ल्याउनुपर्थ्यो तर त्यो पनि गरिएन।
यो सरकारका केही व्यक्तिले म मात्र जान्ने भनेर बसेका कारण देश आर्थिक रुपमा ठूलो चपेटामा पर्ने देखिन्छ। साढे ८ प्रतिशतको रुपमा जिडिपीको बृद्धी हुने अनुमान थियो। तर अब यो सम्भावना छैन। अहिले जुन मानवीय र आर्थिक संकट देखिएका छन्, त्यसलाई सम्बोधन गर्न विगतका ठूला आयोजनालाई निरन्तरता दिएर गर्न सकिन्थ्यो।
अनिता देवकोटा
कोरोनाले परेको मारलाई समेट्ने नीति तथा कार्यक्रमा आएन। सुशासनका कुरा गर्ने सरकारले स्वास्थ्य सामाग्री खरिदमा नै भ्रष्टाचार गरेको छ। चितवनको कोरोना अस्पतालमा पनि यस्तै समस्या देखिएको छ। बन्दाबन्दीले जीवन अस्तव्यस्त पारेको छ। सबै क्षेत्र अस्तव्यस्त छ। सबै क्षेत्र नोक्सानमा पुगेका छन्।
रमेशजंग रायमाझी
संसद विकास कोष खारेज गरौं र कोरोना कोष बनाऔं। होटलमा ७ लाख मानिस बेरोजगार भएका छैनन्। उनीहरु बैंकको ब्याज र कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा छौं।
चुहानडाँडामा एयरपोर्ट बनाएर के लाने? मानिस कहाँबाट जान्छन्? साना जहाज बन्न छोडिसके। पुराना जहाज बोकेर कतिबेला दुर्घटना हुने हो। विमानस्थल बनाउनुको साटो दुई लेनको बाटो बनाऔं। बालहठ प्रधानमन्त्रीले छोड्नुपर्यो। यसअघि भएका विमानस्थल चलेका छैनन्।
प्रकाश पन्थ
धरासायी अर्थतन्त्रलाई उकास्ने भएन। प्राथमिकता के हो त्यसमा ‘फोकस’ भएन। यो असीमित चाहानाको सूची भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।