काठमाडौं- पर्सा जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमित बिरामी अस्पतालबाट भागे सुरक्षाकर्मीलाई गोलीसमेत हानेर नियन्त्रणमा लिन गरेको आदेश सच्याएको छ। यसअघि गोली हानेर भएपनि संक्रमितलाई नियन्त्रणमा लिन जारी गरिएको आदेश सच्याएर बल प्रयोग गरि नियन्त्रणमा लिन सुरक्षानिकायलाई केन्द्रले निर्देशन दिएको छ।
‘अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ मा भएको व्यवस्था बमोजिम आवश्यकता अनुसार बल प्रयोग गर्दै नियन्त्रणमा लिने,’ केन्द्रले सच्याएको पछिल्लो सूचनामा भनिएको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमित व्यक्ति उपचारको क्रममा भागेको अवस्थामा उनीहरुलाई पक्राउ गर्न गोली समेत प्रहार गर्न सकिने आदेश जिल्ला प्रशासन कार्यालय पर्साले दिएको थियो।
बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठकमा उक्त निर्णय गरिएको थियो। तर सो निर्णयलाई सच्याइएको हो।
सिडिओसहित, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, पर्साका मेयर र डाक्टर सम्मिलत बैठकले ७ बुँदे निर्णय गरेको थियो। उक्त निर्णय बुँदा ३ मा ‘कोरोना संक्रमित व्यक्ति उपचारको क्रममा भाग्न खोजे त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिन सुरक्षा निकायले आवश्यक बल प्रयोग गर्न सक्ने र यसका लागि सुरक्षा निकायलाई गोलीसमेत चलाउने अधिकार प्रदान गरिएको’ उल्लेख थियो।
पर्साको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत दुई कोरोना संक्रमित व्यक्ति शौचालय जाने बाहनामा ट्वाइलेटकै भेन्टिलेसन भाँचेर फरार भएका थिए। उनीहरुले सुरक्षा निकायले पक्राउ गरिसकेको छ। अब फेरि यस्तो अवस्था नआओस् भनेर गोली चलाउनेसम्मको अधिकारी दिइएको बैठकले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।