काठमाडौं- नेपाली महिला भलिबलकी उम्दा खेलाडी हुन् प्रतिभा माली। उनको खेल कौशल हेर्न मात्र सयौँ समर्थक भेला भइरहेका हुन्छन्। उनले खेलेको देख्नेहरु स्वतः समर्थक बनिहाल्छन्।
गएको माघ १० गते पनि सयौँ समर्थक ‘प्रतिभा...प्रतिभा’ भन्दै हुटिङ गरिरहेका थिए। राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रतिभा सम्मिलिन न्यु डायमन्ड विभागीय टिम एपिएफविरुद्ध खेलिरहेको थियो। तर प्रतिभा त्यही खेलमा एक वर्ष मैदान फर्कन नसक्ने गरी घाइते भइन्।
स्पाइक हान्न लाग्दा एक्कासि कोर्टमा ढलेकी उनलाई के भएको थियो, त्यतिबेला कसैलाई थाहा थिएन। एपिएफले जितेको अन्तिम सेटमा पनि दर्शकमा निराशा नै बढी थियो। खेलाडीहरु नै पनि जितको खुसीमा थिएनन्। हार्नेको पीडा हारको भन्दा ज्यादा घाइते साथीलाई लिएर थियो।
अन्तिम सेट चलिरहँदा प्रतिभा दुखाइले छट्पटाइरहेकी थिइन्। कोर्ट नजिकै स्ट्रेचरमा रहेकी उनी खेल कहिले सकिएला भन्ने प्रतीक्षामा थिइन्। टिमका साथीहरु अरुणा शाही र सुनिता खड्काले उनलाई उठाएर कोर्टबाहिर पुर्याएका थिए।
त्यो फाइनल खेलको तेस्रो सेटमा न्यु डायमन्डले एपिएफविरुद्ध २२-२० को अग्रता बनाइरहेको थियो। प्रतिभाको स्वभाव नै खुलेर खेल्ने। बलसँगै रमाएर खेलिरहेकी प्रतिभा स्पाइक गर्ने क्रममा ल्यान्डिङमा सन्तुलन गुमाउन पुग्दा गम्भीर चोट सहन बाध्य भएकी थिइन्।
खेल सकिएपछि प्रतिभालाई त्रिपुरेश्वरमा रहेको ब्लु क्रस अस्पतालमा तत्काल भर्ना गरियो। उनको घुँडाको एसिएल, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल गएको एमआरआई रिपोर्ट आएपछि माघ १९ गते शल्यक्रिया गरियो। सफल शल्यक्रिया त भयो तर उनी ९ महिनाभन्दा बढी मैदानबाहिर नै हुने छिन्।
अहिले उनी नियमित थेरापी गराइरहेकी छिन्। कोरोना भाइरस (कोभिड १९) का कारण खेल गतिविधि ठप्प रहँदा र लकडाउनकै सयममा पनि उनले भलिबलमा फर्कने समयबाहेक अरु धेरै सोचेकी छैनन्। त्यसैले चोटबाट बाहिर निस्कन सक्दो मेहनत गरिरहेकी छिन्।
चोटको समय र उपचारबारे प्रतिभाकै शब्दमा...
हामी फाइनलमा खेलमा थियौँ। हाम्रो लागि विभागीय टिम एपिएफ सधैँको प्रतिस्पर्धी हो। प्रायः त हामीसँग फाइनल पुगेर पनि हार्ने टिम नै एपिएफ हो। यसबाट पनि थाहा हुन्छ, त्यो खेल कति महत्वपूर्ण थियो।
एपिएफविरुद्ध खेल्नुअघि मलाई त्यस्तो दुखाइको महसुस भएको थिएन। राम्रो खेल्ने मात्र सोचिरहेको थिएँ। पूरा मिहिनेत लगाएर खेलिरहेको थिएँ। तर अचानक तेस्रो सेटमा चोट लाग्न पुग्यो।
जब म स्पाइक गरेर ल्यान्डिङ गर्न लागेको थिएँ, तब सन्तुलन नमिलेर चोट लाग्न पुग्यो। लड्ने वित्तिकै ‘कट्याक्क’ आवाज आएको जस्तो लाग्यो। एकदमै दुख्यो। हड्डी नै भाँचियो जस्तो लागेको थियो। पीडासँगै डर बढ्यो। हिँड्न सक्ने अवस्थामा थिइनँ। सबैले गोलिगाँठामा चोट लाग्यो भन्ने सम्झिनुभएको रहेछ। त्यसमा मालिस गरिदिनुभयो। गोलिगाँठामा होइन, घुँडामा दुःखाइ हो भनेपछि सुनिता र अरुणा दिदीले उठाएर कोर्टबाहिर लग्नुभयो।
त्यहाँ मेडिकल टिम पनि थियो। उहाँहरुले आइसले सेकाएर ब्यान्डेज लाइदिनुभयो। तर विस्तारै खुट्टा सुन्निँदै आयो। त्यसपछि अस्पताल लगियो।
पहिलो एक्स-रे गर्दा हड्डीमा केही समस्या देखिएन। मलाई हड्डीमै समस्या होला भनेर चिन्ता लागिरहेको थियो। हड्डीमा केही नभएको थाहा पाएपछि त आधा दुःखाइ नै कम भयो। म ठिक छु भन्ने खालको सोच आएको थियो।
सुन्निएको भाग घटाउन औषधि प्रयोग गरियो। शुक्रबार दुर्घटना भए पनि सोमबार मात्रै एमआरआई भयो। रिपोर्टमा एसिएल, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी भएको देखियो। मेडिकल भाषामा त्यसको अर्थ के हो भन्ने डाक्टरले बुझाइदिनु भयो।
रिपोर्टले शल्यक्रिया नै गर्नुपर्ने देखायो। तर मेरो घुँडामा सुन्निएको घटेको थिएन। भित्र जमेको रगत सुकोस् अनि शल्यक्रिया गरौँ भनेर डाक्टरले भन्नुभएको थियो। त्यसको एक हप्तापछि शल्यक्रिया भयो। डाक्टर रुपेश वैद्यको टिमले मेरो शल्यक्रिया गर्यो।
शल्यक्रिया गर्नुअघि मलाई कुनै डर लागेन। शल्यक्रिया भनेको निको बनाउने त हो नि भन्ने भयो। मलाई त अझ कहिले शल्यक्रिया हुन्छ र निको हुनु जस्तो लागिरह्यो।
ब्लु क्रस अस्पतालमा शल्यक्रिया गरेको आठ दिनपछि अस्पतालबाट घर फर्किन पाएँ। निकै गाह्रो भएको थियो, अस्पतालको बसाइ। शल्यक्रियापछि दुख्छ जस्तो लागेको थिएन। तर धेरै दुख्दो रहेछ। एकदमै गाह्रो भयो।
म अस्पतालमा हुँदा पनि भलिबलका प्रतियोगिताहरु भइरहेका थिए। सबै साथीहरु भेट्न आइरहेका हुन्थे, खेल खेलिन जस्तो चाहिँ भएन। सायद दुखाइले होला। दुःखेको बेला मोबाइलमा गेम खेल्छु, त्यसले पनि चोटबाट सोच बाहिर लैजान र दुःखाइ बिर्साउन सहयोग गरिरहेको छ।
धेरै जना थेरापिस्टहरुले अबको उपचार म गर्दिन्छु भन्ने कुरा गरिरहनु भएको थियो। मैले चाहिँ शल्यक्रिया गर्नु भएका डाक्टरलाई नै सोधे। उहाँले मेडिसिटी अस्पतालमा काम गर्ने जयराम महर्जनसँग नै थेरापी गराऊ भनेपछि मैले उहाँबाटै केही समय थेरापी गराएँ। अहिले सातदोबाटोमा फिजियोसँग देखाइरहेकी छु।
अब कहिले निको हुनु जस्तो भइरहेको छ। धेरै समय मैदानबाहिर हुँदैछु। अब के गर्ने त ? भनेर सोचिरहेको हुन्छु। अब पढाइमा अलि बढी ध्यान दिन्छु भन्ने पनि छ। १३औं दक्षिण एसियाली खेलकुदका कारण धेरै पढाइ छुटेको थियो। अहिले म व्यवस्थापनमा स्नातक तह पहिलो वर्षमा पढ्दै छु। लकडाउनका कारण अहिले अनलाइन कक्षा चलिरहेको छ। त्यसमा पनि केही समय व्यस्त हुन्छु।
अहिले हिँड्न सक्ने भइसकेको छु। गएको दुई दिनदेखि अलिअलि हिँड्न पनि थालेको छु। खेल खेल्न सक्ने गरी नै ठीक हुन त अझै समय लाग्ला। तर निराश भएको छैन। मिलेको बेला घरमा नै पनि डाक्टर आइदिनुहुन्छ त्यसले अलि सजिलो हुन्छ।
विस्तारै खानपान पनि मिलाउनु छ। नत्र म धेरै मोटाउँछु भन्ने डर छ। तर डाक्टरले यो खानु हुन्छ, यो खानु हुँदैन, केही पनि भन्नु भएको छैन। सबै खानेकुरा खान हुन्छ। मैले खानेकुरामा बार्ने गरेको पनि छैन। माछा-मासु मिलाएर प्रोटिनयुक्त खानाहरु खाइरहेको छु। आशा छ, छिटो निको हुनेछु र खेलमा फर्कने छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।