काठमाडौं– आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार थान मास्क हस्तान्तरण गरेका छन्। मल्होत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन्।
मल्होत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क विभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आइरहेका छन्। कोरोना भाइरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मल्होत्राले खुसी व्यक्त गरे। उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने जनाउँदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गरे।
मास्क हस्तान्तरण कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले काेरोना भाइरस (कोभिड– १९) फैलिन सक्ने त्रासका बीच मास्क अभाव भइरहेका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन गरेर देशको लागि धेरै राम्रो काम र ठूलो सहयोग गरेकाे बताए। मल्होत्राको कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने गरेकाे छ भने सुरुका दिनमा उत्पादित मास्क सबै अस्पताललगाएतका क्षेत्रमा वितरण गरिएकाे थियाे।
मल्हाेत्राले अबको केहि दिनपछि मास्कको अभाव नहुने समेत दाबी गरे। आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए। आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भइरहेको कालोबजारी पनि अन्त्य भएको उनकाे दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।