'दाइ गाडी सबैतिर बन्द हो?'
तीनकुनेको जेब्राक्रसमा एकजना २२-२५ को लबरा ठिटो मेरो अगाडि एक्कासी आएर प्रश्न गर्यो। म २ सेकेन्ड जति उनलाई इन्कार गरेँ। किनकि उसले मलाइ नछोइदिए हुन्थ्यो र ऊ मेरो सम्मुख आएर नबोलिदिए हुन्थ्यो भनेर।
' अँ, हो!......'
म छोटो जवाफ दिएर ऊबाट तर्किन खोजेँ।
'उदयपुर-कटारी जानुपर्ने दाइ! फेरि लकडाउन १० दिन थप्यो है?'
ऊ पूर्णरूपमा निराश अनि गलित थियो। तर बोल्दा अनुहारमा हल्का मुस्कान भने ल्याउने असफल प्रयास गर्थ्यो।
'अ हो नि, बरु गइहाले हुन्छ घर। यहा गाह्रो हुन्छ।'
म मानवताहीन प्राणीझैँ भएर ऊबाट छिटोछिटो उम्केर आफ्नो गन्तव्य तिर जाने प्रयास मात्र गरिरहेको थिए।
'कसरी जाने होला दाइ? खर्च पनि छैन।'
उसले आफ्नो गलित ज्यान थेग्न नसकेर सडकको बारमा अढेस लाग्दै मसँग उपाय खोज्यो।
जब खर्चको कुरा आयो नि! मेरो छातीभित्र आफ्नै लेनमा बगिरहेको रगतहरु यताउता गरेर सिर्का हान्न थाल्यो।
अनि मेरो अर्धचेतन मनले मलाई आदेश दिन थाल्यो, 'भाग केटा छिटो भाग! यसले तँसँग पैसा ठग्न प्रयास गर्दैछ।'
'उम्.....ऊ त्यहाँ कोटेश्वर चोकमा पुलिसहरू छन्। रिक्वेस्ट गर्नुस्, उहाँहरूले केही व्यवस्था गर्नेछ।'
म छिटो छिटो यति भनेर उसलाई इन्कार गर्दै हिँड्न खोजेँ। एकछिन उसले मलाइ ट्वाल्ल हेर्यो।
'दाइ! कस्तो भोक लागिरहेछ। १०० रुप्याँ दिनुस् न!'
उसले सुख्खा मुख लर्बराउदै झन् मतिर लम्कियो।
म हच्केँ। कतै यो मान्छेले मलाइ छोई नै हाल्ला कि भनेर।
'छैन त भाइ, म पनि बिखर्ची नै हुँ,' मैले निर्लज्ज उत्तर दिएँ। यति भनेर म सरासर आफ्नो बाटो लागेँ।
पर पुगेर यसो फर्केर हेरेँ, ऊ उतै गइरेहेको देखेँ। तर मेरो मनभित्र भने कताकता असन्तुष्टि मात्र पैदा भइरहेको थियो। अघिनै चै ऊबाट कसरी छड्किने भन्ने मात्र भयो। तर अहिले भने उसको बारे मनभित्र अनेक कुराहरु नाच्न थाल्यो।
'साँच्चै यो मानिस समस्यामै पो हो कि? साँच्चै यिनले कति दिनदेखि खान पाएको छैन होला। आदि आदि।'
फर्केर हेरेँ, देखिनँ, ऊ कटेछ। म हारेको साँढेझैँ आफ्नो गन्तव्य लुखुरलुखुर हिडिरहेँ। ढिलै भए पनि मेरो मनमा करुणा चाँहि उत्पन्न भयो। जुन मान्छेमा हुनु पर्ने करुणा....। झट्ट मनमा घरबाट बाटोमा खान भनेर आमा र बहिनीहरुले झोलामा हाल्दिएको बाँकी खाजाको याद आयो। मसँग एउटा उसिनेको लोकल अन्डा, केही जुस, केही बिस्कुट अनि चाउचाउ पनि थियो। तर ढिलो भइसकेको थियो। अब उसलाई भेटिने सम्भावना थिएन। त्यसैले म एकदम उकुसमुकुसको अवस्थामा थिएँ।
मेरो अर्धचेतन मनले फेरि आदेश दियो, 'जा केटा जा. त्यो मान्छे कतै त्यतै उभिरहेको होला वा बसिरहेको होला वा हिँड्दै गरेको होला।' म लम्किरहेको आफ्नो गन्तव्यबाट फरक्क फर्केर उ गएँ, दौडिएँ।
'ए भाइ! ए भाइ...!!'
निक्कै पर ऊ लुरुक्क परेर बन्द घरको छाया परेको सडकपेटीबाट मेरो अगाडि देखा पर्यो।
'भाइ म तपाईंलाई पैसा होइन। केही खाने कुरा चाँहि दिन्छु। हुन्छ?,' मैले उसको अनुहार निकै नियालेर सोधेँ। उसले मात्र टाउको हल्लायो।
'म पनि तपाईं जस्तै नै हो। घरबाट बाटोमा खान भनेर खाजा हाल्देको थियो। त्यही दिन्छु। लोकल अन्डा, जुस, बिस्कुट....।'
म उसलाई केही मिटर टाढा बस्न आग्रह गरेर आफ्नो झोला खोल्न थालेँ। मैले खाजाको पोका सडकको बारमा राखेर उसलाई लिनुहोस् भनेँ। उसले चुपचाप पोका उठायो तर केही बोलेन। उसको मुखले केही नबोले पनि सायद उसको मनले भने केही न केही त पक्कै बोल्यो होला। मैले यस्तै महसुस गरेँ।
'भाइ मिलाएर हिँड्दै भएपनि घर जानुस्। यहाँ एकदमै हाहाकार हुनेवाला छ। बाटोमा ठाउँठाउँमा पानी र खाजा पनि राख्देको छ,' मैले यति भनेर ऊबाट बिदा भएँ।
उसले मेरो हरेक कुरामा मौन स्वीकृति मात्र दिइरह्यो।
त्यसपछि मेरो मन एकदमै चंगा भयो। शरीरभरि लागेका केही बोझहरु हटाएर हल्का भए जस्तो। थोरै भएपनि कसैको भोक मेटाउन पाएकोमा म आफ़ैले खाएर प्रफुल्ल भएजस्तो महसुस भयो। सूर्य विनायकबाट हिँडेर आएको थकाइ मात्र हैन, गौडा नै पिच्छे कुकुरको ग्याङहरुले वरिपरिबाट आक्रमण गर्न घेरा हालेको पिडाहरु पनि बिर्सेर म खुसी थिएँ।
२०७६ चैत २४ गतेको दिन म आफ्नो अर्जेन्ट कामले गर्दा ३ दिन लागेपनि सिन्धुलीगढ़ीबाट महाभारतको बाटो हुँदै हिँड्दै, हेर्दै र बाटोघाटो अनि गाउँठाउँको तस्बिर लिदै काठमाडौं आइपुग्ने आँटिलो योजना बनाएर म हिडेको थिएँ। घरबाट नेपालथोकसम्म मेरो भाइ सुमनले बाइकमा ड्रप गर्दियो। त्यसपछि दिनभर करिवब ३-४ घण्टा मंगलटारभन्दा माथि नार्के पुलसम्म हिँडियो।
बाटोमा भेटेजति र देखेजति सबै मन लागेका दृश्य क्यामरामा कैद गरेँ। त्यस रात भकुन्डे बेँसीमा बस्ने मनसाय बनाएँ। अबेर होला भनेर आइरहेको तेलको ट्यांकरलाई मनलागी नलागी हात उठाए। किनकि मलाई हिँड्नै रहर थियो। ट्यांकर अलिक पर गएर टक्क अडियो। मैले सोध्नुपूर्व ड्राइभर आफैले 'कहाँ पुग्ने?' भनेर सोध्यो। मैले 'पुग्नुपर्ने त काठमाडौं हो तर… ।'
यति भन्दाभन्दै उसले मेरो कुरा काटेर 'ल म काठमाडौं नै पुग्ने हो, आउनुस!' भने। ट्यांकरमा चढेको केही बेरसम्म पनि म भकुन्डे झरुम कि काठमाडौं जाउँ भनेर दोधारमा थिएँ। भकुन्डेबेँसी झरौँ त म काठमाडौं जाने गाडीमा चढिरहेको छु। सिधै काठमाडौं जाउँ त मेरो तीन दिन लगाएर हिँडेर जाने योजना फेल खाइरहेको थियो। म एकदम दोधारमा परेँ। घरिघरि ड्राइभरको मुख हेरेँ। तर उसलाई केही भनिनँ। अनि आफ्नो मनलाई बाधेँ। अहिलेलाई सिधै काठमाडौं नै जाने निर्णय गरेँ। हिँडेर जाने योजना पछिलाई थाती राखेँ।
त्यसपछि तिर्खा लागेकोले झोलाबाट जुस निकालेँ। ड्राइभरलाई पनि एउटा दिएँ। उसलाई बिस्कुट पनि दिएको थिएँ। त्यो चाँहि उसले 'तपाइलाई नै चाहिन सक्छ,' भन्दै फिर्ता गर्यो।
ड्राइभरको खास कीर्तिपुर पुग्ने योजना रहेछ। नत्र मलाई उसले घरसम्मै पुर्याइदिन्थ्यो। अबेर भएको कारण ऊ आफ्नै घर भक्तपुरमै अडिने विचार गर्यो। झर्ने बेलामा मैले, 'कति पैसा दिउँ?' भनेको उसले 'हे मैले त तपाईलाई सहयोग पो गरेको त' भन्यो।
मैले 'थोरै भएपनि लिनुस् न' भनेँ। तर उसले पैसा भने पटक्कै लिन मानेन।
उसले आफ्नो नाम हरिराम थापा भएको बतायो। निकै मानवीय गुणमा थिए। उसको गफ मात्र होइन, व्यवहार पनि असल तथा धार्मिक लाग्यो। ड्राइभर हरिराम थापाकै कारण मैले पनि ती तीनकुनेमा रातको ८ बजे भोक लाग्यो भन्ने मान्छेलाई आफ्नो बाँकी खाजा दिन पाएको थिएँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।