काठमाडौं-दातृ निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई २१ करोड ४० लाख अमेरिकी डलर (करिब २५ अर्ब ६८ करोड रुपैयाँ) सहुलियत ऋण दिने भएको छ। आइएमएफ बोर्डले नेपाललाई दिने उक्त ऋण प्रस्ताव केही दिन अघि स्वीकृत गरेको हो।
कोरोना महामारीका कारण उत्पन्न अवस्थासँग जुध्नका लागि आवश्यक पर्ने वैदेशिक मुद्रा सन्तुलनका लागि आइएमएफले उक्त ऋण दिन लागेको जनाएको छ। वैदेशिक मुद्राका मुख्य स्रोत रेमिट्यान्स तथा पर्यटन आम्दानीमा गिरावट आउने भएपछि नेपालले आफ्नो कोटाको ऋण प्राप्तिका लागि अनुरोध गरेको थियो। सोहीअनुसार आइएमएफले ऋण स्वीकृत गरेको हो।
यो ऋणबाट तत्काल कोरोनाका कारण सिर्जना भएको आन्तरिक तथा बाह्य वित्तीय दायित्व पूरा गर्नमा सहयोगी हुने विश्वास आइएमएफको छ। नेपालले यसअघि नै १२ अर्ब बराबरको ऋण विश्वबैंकबाट लिने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।