इटहरी- बिपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा टेमिमेडिसिन (इन्टरनेटबाट उपचार गराउने) सेवा सुरु भएको छ। बिहीबारबाट बिरामीले घरैमा बसेर आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्नेगरी सेवा सुरु गरिएको हो।
उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले लकडाउनको समयमा ओ. पी. डी. मा आउन नपाएका बिरामीलाई लक्षित गरी सेवा सुरु गरिएको बताए। लकडाउनका कारण कसैलेपनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने अवधारणा र निरन्तर पहलकदमीको फलस्वरूप अनलाइन चिकित्सा सेवा संचालन गरिएको उनको भनाइ छ।
अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागि यो सेवा निकै प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे।
ई लर्निङ/ टेलिमेडिसिन प्रोग्रामअन्तर्गत संचालन भइरहेको यो सेवा विद्यमान कोभिड-१९ को जोखिमयुक्त समयमा बिरामीले घरमा बसेर चिकित्सकहरूसँग प्रत्यक्ष संवाद गरी स्वास्थ्य सेवा, परामर्श लिनेछन्।
जसको लागि प्रतिष्ठानको वेबसाइटमा गएर बिरामीले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। त्यससँगै बिरामीले आफूलाई सहज हुने किसिमको संचार सेवा टेलिफोन, स्काइप, भाइबर, ह्वाट्सयप छान्न पाउनेछन्।
‘बिरामीले उपलब्ध गराएको विवरणको आधारमा २४ घण्टाभित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टरबाट चिकित्सकले आफैं बिरामीलाई सम्पर्क गर्नेछन्।’ उपकुलपति गिरीले भने, ‘चिकित्सक र बिरामीबीचमा भिडियोबाट समेत संवाद गर्न सकिने हुँदा फोनमा व्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिने र बिरामीको विश्वास बढ्ने हुँदा यो झनै प्रभावकारी हुनेछ।’
बिरामीले भरेको फारमका आधारमा सम्बन्धित बिषयका चिकित्सकबाट सेवा उपलब्ध गराइने उपकुलपति गिरीले बताए। प्रदेश-१ भरिको लागि निःशुल्क उपलब्ध गराइने यस सेवाबाट धेरै बिरामी लाभान्वित हुने प्रतिष्ठानको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।