काठमाडौं-विश्वकै ठूलो कार उत्पादक मध्येको एक फक्सवागनले जर्मनीमा रहेको प्लान्ट पुन सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसको महामारीका कारण फक्सवागनको सो प्लान्ट इतिहासमै पहिलो पटक यति लामो समय बन्द भएको हो।
जर्मनीको उल्फवर्गमा रहेको यो प्लान्ट संसारकै ठूलोमध्येको हो। यो प्लान्ट स्थापना भएको ८० वर्षभन्दा बढी भइसकेको छ। उक्त प्लान्ट पुनः सञ्चालन गर्न कम्पनीले कर्मचारीको सुरक्षाका लागि सयौं परिवर्तन गरेको छ। संक्रमण जोखिम न्यूनीकरण गर्न कम्पनीले सबै उपायहरू अवलम्बन गरेको सिएनएन बिजनेसले रिपोर्ट तयार पारेको बिजनेसइनसाइडरले लेखेको छ।
कम्पनीले पार्ट्सकाे उपलब्धता, सरकारी नियम, कारको मागलगायतलाई ध्यानमा राखेर उत्पादन बढाउँदै जाने बताएको छ। यो साता सो प्लान्टबाट करिब १४ सय कार बनाइने छ भने अर्को साता ६ हजार कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। यो संख्या उक्त प्लान्टको कुल क्षमताको ४० प्रतिशत मात्र हो।
सबै सिफ्टमा काम चल्ने हो भने सो प्लान्टमा २० हजार कामदार खटिन्छन्। तर हाललाई एक सिफ्टमात्र चलाउने र त्यसका लागि ८ हजार कामदार परिचालन हुनेछ। प्याक्ट्रीमा काम गर्दा सकेसम्म एक अर्को कारदारलाई भेट्नु नपर्ने व्यवस्था मिलाइएको समाचारमा उल्लेख छ। एक अर्को कामदारबीचको दूरी ५ फिटभन्दा कम हुने ठाउँमा मास्क अनिवार्य गरिएको छ।
यो महामारीअघि सो प्लान्टमा दैनिक २ हजार ट्रकले २१ हजार टन कच्चा पदार्थ ल्याउँथे। अहिले कार उत्पादन कम भएकाले कच्चा पदार्थ ल्याउने ट्रक कम भएको र त्यसलाई व्यवस्थापन गरिएको कम्पनीको भनाइ छ। डेलिभरीका लागि पनि ठूलो चहलपहल हुने भएकाले कार्गो लोड/अनलोड मेसिनबाट हुनेछ।
फक्सवागनको उल्फवर्ग प्लान्ट मार्च १७ देखि बन्द भएको थियो भने पुनः सञ्चालन २७ अप्रिलदेखि भएको हो। यो प्लान्ट ७ करोड वर्गफिटमा फैलिएको छ। २०१९ मा यही प्लान्टबाट करिब ७ लाख कार उत्पादन भएको थियो। १९३८ मा स्थापना भएको यो प्लान्टमा करिब ६३ हजार कामदार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।