काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री यागेश भट्टराई समक्ष ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र नेपाल टेकिङ ट्राभल राफ्टिङ एयरलाइन्स संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (युनिट्राव)ले पर्यटन व्यवसायी तथा श्रमिकहरुको पुनर्जीवनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन्।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भट्टराईले कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् ठोस कार्यक्रम ल्याउने बताए। मन्त्री भट्टराईले सरकार एक्लैको प्रयासबाट यो क्षेत्रलाई माथि उकास्नन नसकिने उल्लेख गर्दै सरकार र निजी क्षेत्रको संयुक्त पहलमा मात्र पर्यटन व्यवसायलाई ब्युँताउन सकिने बताए।
यस्ता खालका प्रकोपबाट मात्र नभएर अन्य उतारचढावले पनि पहिलो निशाना पर्यटन क्षेत्रलाई नै पार्ने उल्लेख गर्दै मन्त्री भट्टराईले जनसंख्याको ठूलो हिस्सा धानेको पर्यटन क्षेत्रलाई फेरि कसरी ब्युँताउन सकिन्छ भनेर सरकारले गृहकार्य गरिरहेको बताए। नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब ९५ अर्बभन्दा बढी र आठ–नौ लाख प्रत्यक्ष रोजगारी रहेको प्रारम्भिक तथ्यांक उल्लेख गर्दै मन्त्री भट्टराइले भने, ‘आठ–नौ लाख जनसंख्या प्रत्यक्ष रोजगारीमा जोडिएको यो क्षेत्रबाट आश्रित जनसंख्याको हिस्सा ठूलो छ, तिनको जीवनयापनलाई सुरक्षित बनाउन सरकारले उचित कदम चाल्छ।’
यसअघि मन्त्रिपरिषद्को बैठकबाट पनि तत्काल राहतका लागि व्यवसायीहरुले तिर्नुपर्ने व्याजको समय सीमा बढाउने, घरभाडा छुटका लागि घरधनीसँग आग्रह गर्ने लगायतका केही घोषणा भइसकेको उल्लेख गर्दै मन्त्री भट्टराइले दीर्घकालीन राहतका प्याकेजबारे पनि आन्तरिक तयारी भइरहेको बताए। उनले भने, ‘व्यवसायीलाई पछि पनि कसरी वित्तीय सहयोग उपलब्ध गराउने र श्रमिकलाई पनि सरकार वा सम्बन्धित कम्पनी जमानी बसेर केही गर्न सकिन्छ कि भनेर गृहकार्य गरिरहेका छाैं।’
यदि यो क्षेत्रमा आबद्ध श्रमिकहरु जान चाहान्छन् भने हाइड्रो पावर, सडक निर्माण, विमानस्थल निर्माण, सगरमाथा सरसफाई, सम्पदा सरसफाइलगायतका काममा लगाउन सकिने गरी वैकल्पिक रोजगारीका बारेमा पनि गृहकार्य भइरहेको मन्त्री भट्टराईले बताए। कोरोनाका कारण अलपत्र परेका तथा खान नपाएका कोही श्रमिक/कर्मचारी छन् भने तिनको समस्याको तत्काल सम्बोधन गरिने उल्लेख गर्दै मन्त्री भट्टराईले समस्यामा परेकाहरुको तथ्यांक तत्काल उपलब्ध गराउन टान र युनिट्रावका प्रतिनिधिसँग आग्रह गरे।
टान र युनिट्रावका तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्रमा व्याज मिनाहा, एक वर्षसम्म बिनाधितो दुई प्रतिशत व्याजदरमा २० लाख रुपैयाँसम्म कर्जा सुविधा, घरभाडा छुटका लागि पहल गर्नुपर्ने, टिम्सअन्तर्गत मजदुर कल्याण कोषमा जम्मा भएको रकम श्रमिक हितको लागि प्रयोग गर्नुपर्ने, ट्रेकिङ कम्पनीको नविकरणको समयावधि ६ महिना थप्नुपर्ने, आउँदो बजेटमार्फत् पर्यटन क्षेत्रमा विशेष छुटका योजना ल्याउनुपर्ने लगायका माग उल्लेख गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।