सिड्नी- गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र नेपाली जनसम्पर्क समितिका अधिकारीले मे ६ मा नेपालबाट जाने नेपाल एयरलाइन्सको चार्टर विमानबाट अष्ट्रेलियामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन माग गरेका छन्। नेपाल एरयलाइन्सले नेपालमा रहेका अष्ट्रेलियाली नागरिक लैजाने तयारीमा छ। उनीहरुले सोही चार्टर्डमा नेपालीलाई स्वदेश फर्काउन माग गरेका हुन्।
कोरोना संक्रमणमा अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे बुझ्न नेपाली कांग्रेसको जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले अष्ट्रेलियामा रहेका आठ वटै राज्यका जनसम्पर्क समितिका अध्यक्षसहित विभिन्न सामाजिक व्यक्तित्वसँग गरेको भिडियो अन्तरक्रियामा सो माग आएको हो। छलफलमा जन सम्पर्क समिति अष्ट्रेलिया एनएसडब्ल्यू राज्यका अध्यक्ष इथान (थानु) शाक्यले संयोजन गरेको भेलामा एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मन्च (एनएडिएफ) अध्यक्ष सुरेन्द्र सापकोटा, एनएडिएफका पूर्वअध्यक्ष बिवेक थापा, एनआरएन ओसियाना पूर्वरिजनल कोडिनेटर महेन्द्र लम्साल, वर्तमान एनआरएन ओसियाना डिपुटी कोर्डिनेटर नबिन कंडेल, पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, एनआरएन आइसीसी सदस्य नारायण काफ्ले र दुर्गा आचार्य, नेपाली कांग्रेस महासमिति सदस्य कन्चन पोख्रेललगायत सहभागी थिए।
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
अन्तरक्रियामा एनआरएनए अध्यक्ष कँडेलले पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी दिँदै जनसम्पर्क समिति अष्ट्रेलियाका सम्पुर्ण राज्य अध्यक्ष तथा प्रतिनिधिहरुले कोरोनाविरुद्धको लडाईंमा एनआरएन अष्ट्रेलियालाई सहयोग पुर्याएकोमा धन्यवाद दिएका थिए। अध्यक्ष कँडेलका अनुसार एनआरएनमा राहतका लागि २ हजारभन्दा बढी नेपाली विद्यार्थीले आवेदन दिएका छन्।
अन्तरक्रियामा एनएडिएफ अध्यक्ष सापकोटाले अप्ठेरो स्थितिमा रहेका नेपीलीहरूको सहयोगका लागि एनएडिएफ तत्पर रहेको बताए। पत्रकार महासंघका अध्यक्ष काफ्लेले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई सुसूचित गर्ने, उनीहरूका समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्याउने र निष्पक्ष समाचार सम्प्रेषित गरिररहेको बताएको अष्ट्रेलियामा रहेका पत्रकार प्रकाश हुँमागाइले जानकारी दिए।
अन्तरक्रियामा जनसम्पर्क विभाग प्रमुख भट्टराईले विश्वमै आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरस पछिको दुःखद परिस्थितिको सामना र आपतमा परेकाहरूलाई यथासक्य सहयोग गर्न नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका सम्पुर्ण राज्य अध्यक्षहरुलाई निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।