काठमाडौं- प्रदेश दुईका सामाजिक विकासमन्त्री नवलकिशोर शाहले प्रदेश दुईमा अनलाइन कक्षा सञ्चालन गर्न असम्भव हुने बताएका छन्। सोमबार शिक्षा पत्रकार समूहले गरेको प्रेस मिटमा शाहले स्रोतको अभावका कारण असम्भव रहेको बताएका हुन्।
उत्त प्रेस मिटमा मन्त्री साहले प्रदेश २ मा गरिबीको रेखामुनिको जनसंख्या धेरै रहेको र अधिकांश परिवारमा मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोको सहज पहुँच नभएकाले तत्कालै अनलाइन कक्षा संचालन गर्न सम्भव नभएको बताए। त्यसैले एसइई, कक्षा ११ र १२ को परीक्षा तथा नयाँ शैक्षिक सत्र सुरु गर्न कोरोना नियन्त्रण भई लकडाउन खुल्ने दिन पर्खिनुपर्ने उनले बताएका छन्।
‘कोरोना भाइरसलाई कम आँक्न भएन। हाम्रो प्रदेशमा गरिबी धेरै छ। घरमा मोबाइल छैन, गाउँमा इन्टरनेट छैन। त्यसैले अनलाइन कक्षा अहिले नै सम्भव छैन‚’ उनी भन्छन्।
लकडाउन लम्बिँदै जाँदा पठनपाठनको नयाँ विधि के हुनसक्छ भन्नेबारे शिक्षा मन्त्रालय र सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीसँग नियमित छलफल भइरहेकाले कुनै उपाय निकालिने मन्त्री साहले बताए। केन्द्रीय सरकारको निर्देशनअनुसार प्रदेशले समन्वयकारी र सहयोगी भूमिका निर्वाह गरिरहेको उनी बताउँछन्। ‘अहिले सम्पूर्ण राष्ट्र एकजुट भएर कोरोनाविरुद्ध लडिरहेको छ। पहिले हामी बाँचौं। देश बचाउनुपर्यो। त्यसपछि न अरु समस्या समाधान गर्ने हो‚’ उनी भन्छन्। लकडाउनको अवधिको शैक्षिक शुल्क नलिन पनि शैक्षिक संस्थाहरुलाई उनले आग्रह गरे।
शिक्षाका संघीय र स्थानीय तह मातहत राखिएकाले चाहेर पनि प्रदेश सरकारले धेरै काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री साहले भने, ‘०७२ को संविधानले पनि प्रदेशलाई समन्वयकारी भूमिका दिएको छ। नीतिगत नेतृत्व संघले गरिरहेको छ, कार्यान्वय स्थानीय तहले गर्छ। कक्षा १२ सम्म कुनै अधिकार नदिएकाले हामी समन्वय गरिरहेका छौं।’ प्रश्न संघले नै पठाउने र प्रदेशलाई उत्तरपुस्तिका पठाउनेमात्र अधिकार दिइएकोमा उनले असन्तुष्टि व्यक्त गरे।
एसइई परिक्षाका लागि विद्यार्थीले आफ्नै विद्यालयबाट जाँच दिन पाउने व्यवस्था गर्नुपर्ने मन्त्री साहको राय छ। ‘बरु एउटा स्कूलको शिक्षकलाई अर्कोमा पठाएर परिक्षा लिए हुन्छ‚’ मन्त्री साहले भने।
अहिले रेडियोबारे जनचेतनाका कार्यक्रमहरु प्रसारण गरिरहेको उल्लेख गर्दै केही शैक्षिक कार्यक्रम र कक्षा मोबाइल र टिभीबाटभन्दा रेडियोबाट प्रभावकारी देखिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।