काठमाडौं- विराटनगरबाट आएका यात्रु काठमाडौं छिर्न लाग्दा सोमबार बिहान नागढुंगा चेकपोस्टमै रोकिएका थिए। विराटनगर महानगरपालिकाको समन्वयमा ७ वटा बसमा १ सय ६० यात्रु सोमबार बिहान साढे ७ बजे नागढुंगा चोकपोस्टमा आइपुगेका थिए।
दर्जनौं चेक पोस्ट पार गर्दै आएका उनीहरुलाई नागढुंगा चेकपोस्टमा भने प्रहरीले रोकेको थियो। ठूलो संख्यामा यात्रु काठमाडौं छिर्न लागेको भन्ने सूचना आइपुगेपछि गृहसचिव महेश्वर न्यौपाने, महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालसहितको टोली चेकपोस्ट पुगेको थियो।
उनीहरू नागढुंगा पुग्दा धेरैजसो यात्रु प्रहरीको आँखा छल्दै जंगलबाटै काठमाडौं प्रवेश गरिसकेका थिए भने जम्मा ६० यात्रु मात्रै बाँकी थिए। काठमाडौं उपत्यकामा बिरामी बाहेकलाई प्रवेश निधेष गरिएको भन्दै गृहसचिव न्यौपानेले उनीहरू फिर्ता हुनुपर्ने बताएका थिए। तर अन्ततः झन्डै १२ घण्टा लामो पर्खाईपछि उनीहरू काठमाडौं भित्र प्रवेश गर्न पाएका छन्। बाँकी रहेका ६० यात्रुलाई साढे ६ बजे छाडिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
‘पहिला नछाड्ने भन्ने आदेश आएको थियो। हामीले रोकेर राखेका थियौं। अहिले छाड्नु भन्ने आयो अनि छाडिएको हो,’ एक प्रहरीले नेपाल लाइभलाई भने। तर महानगरीय प्रहरी परिसर टेकुका एसपी सोमेन्द्र राठौर भने बाँकी रहेकी ६० जना यात्रुलाई विराटनगर नै फिर्ता गरिएको दाबी गर्छन्।
‘जुन गाडीमा उहाँहरू आउनु भएको थियो। त्यही गाडीमा हामीले फिर्ता पठाएका छौं,’ एसपी राठौरले भने। प्रहरीका आआफ्नै दाबी भए पनि दिनभर थानकोटमा रोकिएका यात्रु अहिले भने त्यहाँ छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।