काठमाडौं- भाटभटेनी सुपरमार्केट टंगालले उपभोग्य सामानमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य असुलेको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ। सोमबार विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गराएको हो।
१ सय २० रुपैयाँ एमआरपी तोकिएको लाखमरी मिठाईलाई २ सय २० रुपैयाँमा बेचेको भेटिएपछि कारबाही गरिएको हो। ‘भाटभटेनीले बढी मूल्यमा सामान बेचेको गुनासो उपभोक्ताबाट आएपछि विभागले अनुगमन गरेको हो। बढी मूल्य असुलेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम कारबाही गरेका हौं,’ अनुगमन शाखा निर्देशक सागर मिश्रले नेपाल लाइभसँग भने।
विभागले सोमबार नै गरेको बजार अनुगमनका क्रममा कपनको एमबिटी खाद्य स्टोर्सलाई १ लाख रुपैयाँ र जिएन स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेका छ। यी दुवै खाद्य किराना पसलले मूल्यसूची नराखी व्यापार व्यवसाय गरेको भेटिएपछि कारबाही गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।