काठमाडौं- काठमाडौं, ललितपुर र भक्तपुरका विषयगत सहकारी संस्थाहरुले लकडाउन अवधिमा एक सदस्य बराबर हप्तामा अधिकतम २० हजार रुपैयाँमात्रै भुक्तानी गर्न सहकारी संस्थाहरुलाई सर्कुलर गरेका छन्।
तीनवटै जिल्लाका जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ र कृषि सहकारी संघले सोमबार आफू आवद्ध सहकारी संस्थालाई ७ बुँदे सर्कुलर जारी गर्दै अत्यावश्यक वस्तुको खरिदका लागि हप्ताको एक पटकमा अधिकतम भुक्तानीको सीमा २० हजार रुपैयाँ तोकेका हुन्।
संस्थाको तरलता र नगद व्यवस्थापन क्षमता हेरी निश्चित समय तालिका तोकेर भुक्तानी गर्नुपर्ने पनि परिपत्रमा भनिएको छ। त्यस्तै दैनिक खाद्यान्न व्यवस्थापन गर्न बाहेक अन्य क्षेत्रमा परिस्थिति सहज नहुन्जेल सम्मका लागि कर्जा प्रवाह नगर्न पनि सहकारी संस्थालाई परिपत्र गरिएको छ।
अहिलेको विषम परिस्थतिमा सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट दीर्घकालीन रुपमा पर्न सक्ने प्रभावहरुलाई मध्यनजर गरी संस्थाले दिने सेवालाई अझ सुरक्षित र दिगो रुपमा सञ्चालन गर्न उपत्यकाभित्रका जिल्ला सहकारी संघहरू र विषयगत जिल्ला सहकारी संघहरु समेतको निर्णयपछि यस्तो परिपत्र गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।