काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्सार विभागको तथ्यांकलाई आधार बनाएर बजार अनुमगन गर्न थालेपछि दैनिकजसो औषधि पसलहरु कालोबजारी, मूल्यवृद्धि र नाफाखोरी कसुरमा कारबाहीमा पर्न थालेका छन्।
औषधि व्यवसायीहरुले चीन, भारतलगायत अन्य मुलुकबाट आयात गरेको सामान भन्सार कार्यालयमा जाँचपास गर्दा बुझाएको विवरणका आधारमा काठमाडौं उपत्यकामा बजार अनुगमन गर्न थालिएको हो। कुन व्यवसायीले भन्सारबाट कुन मूल्यमा कति परिमाणको सामान छुटाए र कहाँ लगेर बिक्री वितरण गरिरहेका छन् भनेर ट्र्याकिङ गर्दै अनुगमन गर्न थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गतको बजार अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए।
मिश्रका अनुसार औषधि व्यवसायीहरुले भन्सार विभागमा पेश गरेको बिलबिजकका आधारमा काठमाडौं उपत्यकामा उनीहरुले बिक्री गर्ने सामानको मूल्य तुलना गर्न थालेपछि अधिकांश व्यवसायीहरु कारबाहीमा पर्न थालेका हुन्। ‘हामीले चीनबाट आयात हुने औषधि र मेडिकल सामग्री तातोपानी भन्सार नाकाबाट छुटेपछि त्यो कहाँ–कहाँ र कुन व्यवसायीकोमा जान्छ भनेर खोजी गर्याैं। त्यसपछि उनीहरुले भन्सार कार्यालयमा देखाएको सामानको मूल्यसूची र बजारमा बेच्दाताकाको मूल्यसूचीको तुलना गर्याैं,’ उनले भने।
विभागले गरेको अनुगमनका क्रममा व्यवसायीहरुले भन्सार छुटाउँदा न्यून बिजकीकरण गर्ने र सामानको कम मूल्य देखाउने तर बजारमा बेच्दा भने चर्को मूल्य असुल्ने देखिएको हो। खरिद, भन्सार जाँचपास र बिक्रीसँग सम्बन्धित बिलबिजकहरु दाँजेर विभागले अनुगमन थालेपछि दैनिकजसो औषधि पसल र मेडिकल सामग्री बेच्ने व्यवसायीहरु कारबाहीमा पर्न थालेका हुन्। वैशाखयता मात्रै २ दर्जन बढी औषधि पसल र अन्य सर्जिकल सामग्री बेच्ने पसलहरुलाई विभागले कारबाही गरिसकेको छ।
वाणिज्यले अहिलेसम्म गरेको बजार अनुगमनमा तातोपानी भन्सार नाकाबाट नेपाल भित्रिएको सामानको मात्रै ट्र्याकिङ गरेर अनुगमन गरिएको छ। तर, भारतसँग जोडिएका भन्सार नाकाबाट भित्रिएका औषधि र सर्जिकल सामग्रीको पनि अनुगमन र मूल्य विश्लेषण गरिने निर्देशक मिश्रले बताए। ‘अहिलेसम्म कारबाहीमा परेका औषधि व्यवसायीहरु तातोपानी भन्सारबाट सामान ल्याएकाहरु छन्। हामी वीरगंज, भैरहवालगायत भारतसँगका ठूला नाकाबाट भित्रिएका सामानको पनि अनुगमन गर्छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।