धरान- बिपी कोइराला स्वास्स्थ विज्ञान प्रतिष्ठान, धरानले कोरोना भाइरसको उपचारका लागि छुट्टै कोभिड– १९ अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर सुविधा रहेको जानकारी प्रतिष्ठानले दिएको छ।
पहिलो चरणमा सञ्चालनमा ल्याइएको सय शय्यासहितको ‘आइसोलेसन’ कोभिड-१९ अस्पतालको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार कोरोना भाइरसको उपचार र रोकथामका लागि गम्भीर भएको बताए। ‘कोभिड– १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासन पालना गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘सङ्क्रमितलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गरिनुपर्छ।’
प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिपी प्रतिष्ठानमा एक हप्तामा १ सय बेडको अस्पताल तयार भएको उल्लेख गर्दै आवश्यक परेको अवस्थामा यहाँ थप ५ सय बेड तयारी गरिने जानकारी दिए।
अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरका अनुसार अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर, छुट्टै एक्सरे र अल्ट्रा साउन्डको सुविधासहित सय बेडको कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याइएको हो।
यसअघि कोरोना संक्रमित व्यक्तिहरूलाई प्रतिष्ठानले विराटनगरको कोरोना अस्पतालमा पठाउँदै आएको थियो। प्रतिष्ठानले कोरोनाको परीक्षण पनि यसअघि नै सुरू गरिसकेको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र पिसिआर परीक्षण भइरहेको अवस्थामा पहिलोपटक प्रतिष्ठानले प्रयोगशालाबाट परीक्षण सुरू गरेको थियो।
प्रतिष्ठानले छुट्टै कोरोना अस्पताल सञ्चालन गरेसँगै यसले प्रदेश– १ मा कोरोना संक्रमित बिरामीको चापलाई व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।