काठमाडौं–सरकारका काम कारबाहीको समीक्षासँगै राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदको अध्यादेशलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म अल्पमतमा परेकाले स्थायी कमिटी बैठक टार्दै आएका छन्। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सचिवालयका नेताहरुले तत्काल बैठक बोलाउँन दबाब दिँदै आएका छन्।
आफ्नो आलोचनामात्रै नभई राजीनामाको विषय उठ्न देखेपछि प्रधानन्त्री ओली बैठकै नबोलाउने पक्षमा देखिएका हुन्। कोरोना भाईरसको महामारी र आगामी आर्थिक वर्षको बजेट ल्याउने विषयलाई देखाएर बैठक पर धकेल्ने ओलीको योजना छ।
तर, एकपछि अर्को गर्दैै राजनीतिक घटनाक्रम विकसित भएकाले ओली अत्यन्तै ‘प्रेसर’ मा परेका छन् । अध्यक्ष प्रचण्डसहित,माधव नेपाल,झलनाथ खनाल वामदेव गौतमलगायत नेताहरु एकातिर उभिएपछि प्रधानमन्त्री ओली त्रसित भएका छन्। पार्टीदेखि संसदमा अल्पमतमा पर्ने देखिएपछि विभिन्न विकल्पमा आफूनिकट नेता र कानुनविदसँग परामर्श गरिरहेको बुझिएको छ ।
ओलीले बैठक नबोलाए प्रचण्डको अध्यक्षतामा बसाल्ने धम्की
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठक नबोलाए अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसाल्ने धम्की नेताहरुले दिएका छन्। ‘पार्टीमा धेरै विवाद भयो, बाहिर–बाहिरमात्रै बोलेर भएन स्थायी कमिटी बैठक तत्काल बोलाउनु पर्यो भनेर माधव कमरेडलाई आफ्ना कुरा राख्यौं,’ स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘माधव कमरेडले स्थायी कमिटी बैठक बस्नुपर्छ भन्ने आवाज धेरै उठिरहेको छ। मैले आफ्नो तवरबाट वैठक राख्न पहल गर्छु भन्नु भएको छ ।’ यदि अध्यक्ष ओलीले बैठक राख्न नमाने पार्टी विधानअनुसार अर्का अध्यक्ष प्रचण्डले बोलाउनु पर्ने ज्ञवालीले बताए।
‘पार्टी वैठकमा राख्नुपर्ने धेरै विषय उठिसकेका छन्। त्यो पार्टी कमिटीभित्रै छलफल गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘बैठकमा छलफल भएपछि धेरै विषयको निकास निस्कन्छ।’ यस्तै अर्का स्थायी कमिटी सदस्य मणि थापाले अध्यक्ष ओलीले बैठक नबोलाए विधानमै टेकेर अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाउन सक्ने बताए । ‘सरकारका काम एकपछि अर्को गर्दै विवादित भए । महामारीका बेला मन्त्रीहरु अनियमिततामा मुछिएका कुरा आएका छन्,’ थापाले भने, ‘सरकार र पार्टी दुवै विषयमा छलफल गर्न स्थायी कमिटी बैठक तत्काल बोलाउनु पर्छ ।’
लकडाउन र बजेट देखाउँदै बैठक टार्ने योजनामा ओली
प्रधानमन्त्री ओलीले पार्टीमा राजीनामाको विषय उठिसकेकाले कसरी सामना गर्ने भन्ने विषयमा आफूनिकट नेताहरुसँग परामर्श गरिरहेका छन्। प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेपछि सुल्झ्याउन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत काठमाडौं आईसकेका छन्। यस्तै ओलीले आफूनिकट कानुनविद् र संविधानविद्सँग समेत परामर्श लिईसकेका छन्।
प्रचण्डसमूह र नेपाल समूहका नेताहरुले स्थायी कमिटी बैठक डाक्न दबाब दिन थालेपछि ओली लकडाउन र बजेटलाई देखाएर टार्ने पक्षमा देखिएका छन् । आलोचना मथ्थर भएपछि सकेसम्म लकडाउनपछि, नभए बजेट ल्याएर मात्रै बैठक राख्ने मुडमा ओली छन्।
यस्तै ओलीनिकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले महामारीका बेला स्थायी कमिटी वैठक बोलाउनुको कुनै औचित्य नभएको तर्क गरे। ‘अहिले विश्वव्यापी महामारी चलिरहेको छ। देश लकडाउनमा छ,’ मण्डलले भने, ‘यस्तोबेला भीडभाड हुने गरी किन बैठक बोलाउनु पर्यो।’ पार्टी भएपछि विवाद हुने बताउँदै मण्डलले त्यसलाई ठूलो समस्याको रुपमा नलिन आग्रह गरे।
‘अहिले कुन पार्टीमा विवाद छैन काग्रेसमा हेर्नुस् उस्तै विवाद छ । पार्टीमा विवाद भए पनि महामारी कम भएपछि बैठक बसाले भईहाल्यो किन हतार गर्नु?’ मण्डलले भने, ‘सरकार महामारी नियन्त्रणमा जुटेका वेला अनाश्यक काममा अल्झिनु हुँदैन।’ तर प्रचण्ड र नेपाल समूहका नेताहरुले तत्काल स्थायी कमिटी बैठक बोलाउन ओलीलाई निन्तर दबाब दिँदै आएका छन् ।
बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी
स्थायी कमिटी बैठकमा नेताहरुले सरकारका काम कारबाही र अध्यादेशका विषयमा प्रधानमन्त्रीको राजीनामाको विषय उठाउने तयारी गरेका छन्। ‘प्रधानमन्त्रीज्यूले गर्नै नहुने गल्ती गरेर सरकार र पार्टीमात्रै नभई लोकतन्त्रलाई नै धरापमा पारेकाले विकल्प खोज्नु पर्ने अवस्था आयो,’स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्। ‘हामीले प्रधानमन्त्रीज्यूले रामै्र गर्नुहोला भनेर पार्टी अध्यक्ष र प्रधानमन्त्री बनायौं,’ नेपाल लाईभसँगको कुराकानीमा शाक्यले भनिन्, ‘उहाँ पार्टी फुटाउँदै हिड्ने, आफ्नो दल कमजोर बनाउँदै जानु भयो। अब नैतिक प्रश्न उठिसक्यो प्रधानमन्त्रीको विकल्प खोज्नु पर्छ ।’
यस्तै अर्र्का स्थायी कमिटी सदस्य मणि थापाले सरकार र पार्टी दुवै जिवन्त हुने गरी छलफल गर्नुपर्ने भएकाले तत्काल बैठक बोलाउनुपर्ने माग गरे। ‘प्रधानमन्त्रीज्यूले बैठक बोलाउन आलटाल गर्दै हुनुहुन्छ। बैठक तत्काल बोलाउनुपर्छ,’ थापाले भने, ‘बैठकमा प्रधानमन्त्रीको विकल्प खोज्नुपर्छ भन्ने साथीहरुको मत बलियो हुँदै गएको छ ।’
स्थायी कमिटी बैठकमा गम्भीर छलफल भए प्रधानमन्त्रीको विषयमा केही निर्णय गर्नुपर्ने अवस्था आएको थापाले बताए ।
स्थायी कमिटीमा कसको शक्ति कति ?
नेकपामा स्थायी कमिटीमा ४५ जनामध्ये सबैभन्दा ठूलो गुट अध्यक्ष प्रचण्डको छ भने त्यसपछि नेपाल र ओली गुट बलियो छ। झलनाथ खनाल,वामदेव गौतम एजेण्डाका आधारमा कहिले नेपाल, कहिले प्रचण्डतिर उभिन्छन्। महासचिव विष्णु पौडेल ओली गुटको भन्ने गरिए पनि पछिल्लो समय प्रचण्ड–नेपाल गुटतिर नजिकिन थालेका छन्।
रामबहादुर थापा बादल ओली र प्रचण्डको समदुरीमा छन्। तर, अध्यादेशलाई लिएर स्थायी कमिटी बैठक माग गरेपछि बादल प्रचण्डतिर ढल्किँदै गएको विश्लेषण गर्न थालिएको छ। अहिले स्पष्ट रुपमा गुटमा खुलेका नेताहरु यी हुन्ः
ओली गुटका नेता
१. केपी शर्मा ओली (अध्यक्ष)
२. ईश्वर पोखरेल
३. पृथ्वीसुब्बा गुरुङ
४. शंकर पोखरेल
५. सत्यनारायण मण्डल
६.सुवास नेम्वाङ
७. किरण गुरुङ
८. प्रदीप ज्ञवाली
९. छविलाल विश्वकर्मा
१०. विष्णु रिमाल
११ रघुविर महासेठ
नेपाल समूहमा
१ वरिष्ठ नेता माधवकुमार नेपाल
२. भीम रावल
३. अष्टलक्ष्मी शाक्य
४. युवराज ज्ञवाली
५. घनश्याम भुसाल
६. भीम आचार्य
७. गोकर्ण विष्ट
८. योगेश भट्टराई
९. सुरेन्द्र पाण्डे
१०. रघुजी पन्त
११. बेदुराम भुसाल
१२ मुकुन्द न्यौपाने
प्रचण्ड समूहमा
१. पुष्पकमल दाहाल प्रचण्ड (अध्यक्ष)
२. नारायणकाजी श्रेष्ठ (प्रवक्ता)
३. देव गुरुङ
४. टोपबहादुर रायमाझी
५. गिरिराजमणि पोखरेल
६. हरिबोल गजुरेल
७. वर्षमान पुन
८. शक्ति बस्नेत
९. जनार्दन शर्मा
१०. पम्फा भुसाल
११. मातृका यादव
१२. गणेश साह
१३. लेखराज भट्ट
१४. देवेन्द्र पौडेल
१५. चक्रपाणि खनाल
१६. लीलामणि पोखरेल
१७. मणि थापा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।