काठमाडौं- खाना पकाउने ग्यास बढी मूल्यमा बेच्ने अनलाईन व्यापार कम्पनी ‘सस्तो दराज डटकम’लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार २ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागले अनलाइन व्यापार गर्ने कम्पनीहरुको निगरानी गर्दा लाजिम्पाटमा कार्यालय रहेको उक्त अनलाइन स्टोरले ग्यासको मूल्य बढी राखेको पाइएको थियो। अहिले ग्यासको बजार मूल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेकोमा उक्त अनलाइन व्यापार कम्पनीले २५ रुपैयाँ बढी मूल्य राखेर बिक्री वितरण गरिरहेको जानकारी साइटमा राखेको थियो।
‘ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ भनेर अनलाइनमा सूचना राखेको रहेछ। बजार मूल्यभन्दा बढीमा बिक्री वितरण गरिरहेको भेटिएपछि कारबाही गरिएको हो,’ विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्रले नेपाल लाइभसँग भने।
विभागले कारबाही गरेपछि उक्त अनलाइन बन्द समेत भइसकेको छ। सामाजिक सञ्जाल फेसबुकमा पेज बनाएर राखिएका जानकारी पनि हटाइएको छ।
विभागले आइतबार नै गरेको अनुगमनका क्रममा २ वटा औषधि पसललाई पनि कारबाही गरिएको छ। त्रिपुरेश्वरमा रहेको हिमालय सर्जिकल हाउसले सिरिन्ज बढी मूल्यमा बेचेको भेटिएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै व्यवसाय दर्ता नगरी संचालन भइरहेको उत्तरढोकास्थित प्रेरणा औषधि पसललाई पनि विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।