भैरहवा- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन्। त्यस्तै अहिले होटलहरु बन्द हुँदा अस्पतालमा उपचार गराइरहेका बिरामी र बिरामी कुरुवा पनि प्रभावित भएका छन्।
लकडाउनका कारण घरबाट खाना अस्पतालसम्म पुर्याउन पनि समस्या छ। यही अवस्थालाई मध्यनजर गर्दै रुपन्देहीकाे पक्लिहवा निवासी समाजसेवी शान्तिदेवी राई तथा हाल अमेरिका रहेकी विद्या राई, बिमा राई, प्रेरणा राई र रीमा राईको सहयोगमा निःशुल्क शाकाहारी खाना खुवाइएको छ।
नयाँगाउँ–रानीगाउँ युवा समाज पक्लिहवाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसर (युसिएमएस)मा गरीब, विपन्न परिवार, उपचाररत बिरामी, बिरामी कुरुवा र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई निःशुल्क शाकाहारी खाना खुवाएको समाजका शुशिल गुरुङले बताए। समाजले दोस्रो चरण अन्तर्गत आइतबार ३ सय ५० जनालाई नास्ता तथा ७ सय जनालाई खाना खुवाएको उनले बताए।
यसअघि समाजले गत हप्ताको बुधबार ७ सय जनालाई खाना खुवाएको युसिएमएसका जनसम्पर्क अधिकृत समेत रहेका गुरुङले बताए। निःशुल्क खाना खुवाउने कार्यक्रमलाई लकडाउनको अवधिमा निरन्तरता दिइने समाजसेवी याम बहादुर थापाले बताए। लकडाउनको अवधिमा अस्पतालपरिसरमा खाना खुवाउने कार्य प्रशसंनीय रहेको पत्रकार शशि पन्थी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।