काठमाडौं– समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरणशैलीमा जबर्जस्ती जनकपुरबाट काठमाडौं ल्याएको घटनाबारे सो पार्टीले उजुरी हाल्नेबारे गृहकार्य सुरु गरेको छ। यस ‘अपहरण’ घटनाका बारेमा समाजवादीका नेताहरुले शनिबार कानुन व्यवसायीसँग परामर्श गरेका छन्।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेताहरुले कानुन व्यवसायीसँग परामर्श गरेको र छिट्टै अपहरण तथा शरीर बन्धकको कसुरमा उजुरी हाल्ने तयारी गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘अहिले नै उजुरी हाल्ने/नहाल्ने निर्णयभन्दा पनि कसरी जान सकिन्छ भन्नेबारे परामर्श गरिएको हो,’ स्रोतले भन्यो।
पार्टी फुटाउने योजनासहित सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जबर्जस्ती बुधबार राति काठमाडौं ल्याएका थिए।
आफ्नो पिएसओमार्फत् सर्वेन्द्र खनालले घर पत्ता लगाएर घरमै पुगेको र जबर्जस्ती काठमाडौं ल्याएको सांसद यादवले बताएका छन्। तर, सांसदद्वय र खनालले भने यादवले नै प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि काठमाडौं ल्याएको दाबी गरेका छन्।
सांसद यादवले उनीहरुविरुद्ध उजुरी हालेमा मुलुकी अपराध संहिता २०७४ को दफा २११ आकर्षित हुन्छ। कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारीसाधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेकाे ठहरिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।