काठमाडौं- खटाएको ठाउँमा चिकित्सक जान अटेर गरेपछि प्रदेश स्वास्थ्य निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गुहारेको छ।
बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटिन डा. राजु राज चौधरीलाई पत्राचार गरिएपनि उनले अटेर गरेको भन्दै निर्देशनालयले मन्त्रालयलाई गुहारेको हो।
उक्त स्वास्थ्य केन्द्रमा यथाशीघ्र चिकित्सकको व्यवस्थापन गर्न माग गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले मन्त्रालयलाई निवेदन गरेका छन्।
उक्त स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सकको पदपूर्ति हुन नसकेको र कोरोनाको उपचारमा चिकित्सकको अभाव भएपछि निर्देशनालयले बाजुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकमध्ये एक जना खटाउन पत्राचार गरेको थियो। तर बाजुरा अस्पतालले चिकित्सक खटाउन नसकिने भनी स्वास्थ्य निर्देशनालय डोटीलाई जानकारी गराएको थियो।
त्यसपछि छात्रवृत्तिमा अध्ययनरत डा. राजुराज चौधरीलाई कोरोना महामारी नियन्त्रण नहुन्जेलसम्मका लागि खटिएकै ठाउँबाट तलब भत्ता पाउने गरी कामकाज गर्न पुनः पत्राचार गरिएको निवेदनमा उल्लेख छ। तर‚ डा. चौधरीले स्वास्थ्य निर्देशनालय दिपायल डोटीबाट गरिएको पत्राचारको अवज्ञा गरी काज गर्न खटाएको ठाउँमा अटेर गरेको भनिएको छ।
महामारीको रोकथाम तथा नियन्त्रण गर्न उक्त स्वास्थ्य केन्द्रमा तत्काल चिकित्सकको व्यवस्थापन गर्न डा. अवस्थीले माग गरेका छन्। चिकित्सकको व्यवस्थापन हुन नसके आफूलाई भए पनि काजमा खटाउन मन्त्रालयलाई उनले आग्रह गरेका छन्।
खटाएको ठाउँमा जान नमानेको भन्दै मन्त्रालयले डा. चौधरीलाई कारबाही गर्ने तयारी समेत अघि बढाएको छ। तर मुलुकको विषम परिस्थितिमा चिकित्सकलाई कारबाही गर्न नहुने भन्दै विभिन्न स्वास्थ्यकर्मीले विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।