काठमाडाैं- शनिबार कोरोना भाइरसका नयाँ संक्रमित नभटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार कोरोना भाइरसका नयाँ संक्रमित फेला नपरेको बताए।
उनका अनुसार अहलेसम्म पिसिआर प्रविधिबाट ९ हजार ९ सय ६७ जना र आरडिटी प्रविधिबाट ३९ हजार ६ सय ७० जनामा कोरोना भाइरसको परीक्षण गरिएको समेत उनले बताए।
हालसम्म नेपालमा कोरोनाबाट ४९ जना संक्रमित भएकोका छन्। मिडिया ब्रिफिङमा बोल्दै डा देवकोटाले शुक्रबार साँझ कोरोना संक्रमण पोजेटिभ देखिएका पुरुष झापाको दमक निवासी रहेको समेत उनले जानकारी दिए।
चैत ४ गते दुबइबाट आएका उनका परिवारका एक सदस्यसहित सो परिवारका ३ जनामा कोरोनाको र्यापिड परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। तर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा ती पुरुषको नमुनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।
हाल नेपालमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए। आइसोलेसनमा भने ८७ जना रहेको उनले बताए। शनिबार कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभेटिएको समेत उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।