काठमाडौं- राष्ट्रिय व्यापार संघले कोरोना भाइरसका कारण लकडाउन जारी भएपछि व्यापार व्यवसाय ठप्पप्रायः बन्न पुगेको भन्दै साना व्यापारलाई समेट्ने गरी राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेको छ।
संघले शनिबार एक विज्ञप्ति जारी गर्दै निम्न तथा मध्यमस्तरीय व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउन बैंक, वित्तीय संस्था र सहकारी संस्थाको ब्याजको मिनाहा, घरभाडा मिनाहा, सरकारलाई भुक्तानी गर्नुपर्ने कर मिनाहा तथा सरलीकरणलगायतका प्याकेज घोषणा गर्न सरकारसँग माग संघले गरेको छ।
‘लकडाउनको कारणले समयमै ऋणको भुक्तानी, उधारो तथा सरसापटी चुक्ता गर्न नसक्ने अवस्था सिर्जना भएकोले निम्न तथा मध्यमस्तरका व्यवसायीलाई आर्थिक सहजीकरणका प्याकेज तत्काल उपलब्ध गराई सरकारले अभिवावकीय दायित्व निर्वाह गरोस,’ विज्ञप्तिमा भनिएको छ।
‘कोरोना संक्रमणको महामारीले हामीलाई यसरी उठ्नै नसक्ने गरी पच्छारीरहेको परिस्थितिमा हामीलाई धुलो टकटक्याउदै उठ्ने हौसला तथा प्रेरित गरिदिनुहुन र अविभावकीय दायित्व निर्वाह गरिदिनुहुन हामी व्यवसायी सरकारसँग अनुरोध गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।