गाइघाट-उदयपुरकाे भुल्केमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ।
त्रियुगा नगरपालिका-३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड-१९ को थप जोखिम हुन नदिन दुई हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव हुन पुगेको बताइएको छ ।
गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकालले बताए। उनले भने-'मजदुरले राहत पाएको सबै कुरा खाइसके। अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ। गाउँमा मिल चल्दैन। घरमा तोरी छ। मिलमा लगेर पिसाउने अवस्था छैन। भएको नुन सकियो।'
स्थानीय कुमार भट्टराई अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेकोमा दुःख व्यक्त गरे। उनले भने- 'बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केही पनि छैन । बस्तुहरुलाई खुवाउने घाँस पनि छैन । '
आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताइन्। उनले भनिन्- 'खेतबारीमा मकै गोड्ने बेला भयो । ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौँ । '
गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाइदिन स्थानीय सीता थापाले माग गरिन्। सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने-' दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौ ।'
त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।