दमक-झापाको दमकमा शुक्रबार साँझ एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता अपनाइएकाे छ।
गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स (दुबइ) बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो ।
संक्रमण पुष्टि भएलगत्तै नगरपालिकामा शुक्रबार साँझ नै बसेको बैठकले कोभिड-१९को संक्रमण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाइ गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताइन्। उनका अनुसार संक्रमितको घर बिहीबार बेलुकादेखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको छ ।
बिहीबार दमक-३ का एकै परिवारका तीन जनामा गरिएको र्यापिड टेष्टमा एण्टीबडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणका क्रममा एक जनामा कोरोना संक्रमण देखिएको थियो । दमक अस्पतालको आइसोलेसनमा ती संक्रमितकोसहित सात जना राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
शुक्रबार सम्ममा दमकका विभिन्न तीन क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक-४ स्थित मानसरोवरमा २१, दाहाल प्रतिष्ठानमा छ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।