काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता हुने भएको छ। बुधबार साँझ बसेको दुवै दलका शीर्ष नेताहरूबीच एकता गरी जनता समाजवादी पार्टी (सजपा) गठन गर्ने सहमति भएको हो।
सहमतिपत्रमा महन्थ ठाकुर, बाबराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्र राय यादव, अशोक राई, शरत सिंह भण्डारी, राजेन्द्र श्रेष्ठको हस्ताक्षर छ। राजपा अध्यक्ष मण्डलका नेताहरू अनिल झा र राजकिशोर यादवको भने हस्ताक्षर छैन।
यस विषयमा नेपाल लाइभले जिज्ञासा राख्दा नेता उपेन्द्र यादवले दुवै जना बाहिर भएकाले हस्ताक्षरमा सहभागी नभएको बताए। 'उहाँहरु पनि एकतामा सहमत हुन्छ मात्रै हस्ताक्षरमा सहभागी हुन नसक्नु भएको हो,' यादवले भने। उनले तत्कालका लागि महन्त ठाकुर अध्यक्ष हुने र अरु विषय पार्टीमा मिलाउँदै जानेसमेत बताए। दल दर्ता पनि लकडाउन भएकाले उपयुक्त समय मिलाएर मिलाएर गर्ने जानकारी उनले दिए।
राजपाले प्रयोग गर्दै आएको चुनावचिन्ह र समाजवादीले प्रयोग गर्दै आएको झन्डा हुने गरी दुई पार्टी एक हुन सहमत भएका हुन्।
एक वर्षपछि एकता
समाजवादी पार्टी र राजपाबिच एकता हुने भनिएको ठ्याक्कै वर्ष दिनपछि टुंगोमा पुगेको छ। लामो समयसम्म पार्टीको नाम, झण्डा र संगठनिक संरचना मिलेपनि नेतृत्वको व्यवस्थापनलाई लिएर लामो समय देखि विवाद हुँदै आएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएपछि पार्टी फुट्ने त्रास भएपछि हतारहतार समाजवादी र राजपा एकता गरेका हुन्।
यसैबीच समाजवादी पार्टीका केही नेताहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा रहेको बताइएको छ। प्रहरीले अपहरण शैलीमा जनकपुरबाट नियन्त्रणमा लिएर समाजवादी पार्टीका नेतासमेत रहेका डा सुरेन्द्रकुमार यादवलाई केहीबेर अघि मात्र प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गराइएको बताइएको छ।
उनलाई स्थलमार्ग हुँदै राजधानी ल्याइएको हो। यसले गर्दा समाजवादी पार्टीका केही सांसदले नयाँ पार्टी गठन गर्न सक्ने बताइएको छ।
राजपा र समाजवादी दलको एकता र टुटफुटको इतिहास पनि उतिकै भने छैन। पटकपटक एकता र टुटफुट हुँदै आएका पार्टी फेरि एकपटक एक भएका छन्।
नयाँ शक्ति, राजपा, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमुक्ति पार्टी चार पार्टीबीच वैशाख १९ गते एकताका लागि छलफल भएको थियो। तत्कालीन नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बैठकमा सहभागी थिए। राजपाले एकताका लागि थप समय मागेको थियो। फोरम र नयाँ शक्तिले तत्कालै एकता गर्नुपर्ने भनेपछि मत बाझिएको थियो।
नयाँ शक्ति र फोरमबीच एकतापछि जेठ पहिलो साता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोबीच महतोकै निवास सिनामंगलमा भेट र एकताकै विषयमा गम्भीर छलफल भएको थियो।
६ असारमा विश्व योग दिवसको अवसरमा जनकपुरमा भएको कार्यक्रममा राजपा अध्यक्षमण्डलका सदस्य महतो र समाजवादी अध्यक्ष यादव एउटै कार्यक्रममा सहभागी थिए। कार्यक्रममै दुई नेताबीच एकताबारे छलफल भएको थियो।
असार दोस्रो साता एकताका लागि सहजकर्ताको रूपमा राजपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण साथै समाजवादीबाट शिवजी राय यादव र गंगानारायण श्रेष्ठको संयोजकत्वमा टोली गठन भयो।
पछिल्लो समय राजपा नेता ठाकुर महतो, शरदसिंह भण्डारीलगायत नेतासहित समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवबीच निरन्तर छलफल चल्दै आएको थियो।
८ बैसाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,२०७७ जारी गरेपछि एकताका लागि घनिभूत छलफलमा जुटेका यी दुवै दलले १० बैसाखमा एकताका लागि हस्ताक्षर गरेका हुन्।
समाजवादी पार्टी विभाजन र एकता
-२३ वैशाख २०७६ संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता
-३२ जेठ २०७२ मधेसी जनाधिकार फोरम र संघीय समाजवादी पार्टीबीच एकता
-९ जेठ २०६८ मधेसी जनाधिकार फोरमबाट अलग भई जेपी गुप्ताको नेतृत्वमा फोरम गणतान्त्रिक गठन
-जेठ २०६६ मधेसी जनाअधिकार फोरमबाट विभाजन भई मधेसी जनाअधिकार लोकतातिन्त्रक गठन
-३१ असार २०७४ साल विजय गच्छादार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक कांग्रेस प्रवेश
-१३ असार २०६९ मा विजय गच्छादारबाट गलग भई शरदसिंह भण्डारीको नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन
-२ माघ २०६४ साल अन्तरिम संविधान जलाएर आन्दोलन घोषणा
-०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा मधेसी जन अधिकार फोरम स्थापना
राजपा एकता र विभाजन शृंखला
-७ वैशाख २०७४ राष्ट्रिय जनता पार्टी गठन। जसमा तराई मधेस केन्द्रित ६ दल एकता गरी राजपा पार्टी गठन भएको थियो। महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, अनिल झाको सद्भावना, सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी एक भई राजपा बनेको थियो।
-२०६९ सालमा सद्भावनाबाट अलग भई तराई मधेस सद्भावना पार्टी गठन
-२०६८ सालमै रामनरेश राय यादवले आफ्नो नेतृत्वमा पार्टी फुटाएका थिए जसमा महेन्द्र यादवले तराई मधेस सद्भावना पार्टी निर्माण
-२०६८ सालमा सद्भावनाबाट अलगत भई अनिल झाको नेतृत्वमा नेपाल सद्भावना पार्टी गठन
२०६४ सालमा महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन हृदेश त्रिपाठीपनि सहभागी
-२०६३ सालमा राजेन्द्र महत्तोले आफ्नो नेतृत्वमा सद्भावना पार्टी नेपाल गठन
-२०६८ सालमा अनिल झाको नेतृत्वमा संघीय सद्भावना पार्टी
-२०६४ सालमा महत्तो र कर्णवीच एकता भई सद्भावना पार्टी गठन
-२०५८ सालमा राजेन्द्र महत्तो र लक्ष्मणलाल कर्ण नेतृत्वमा सदभावना गठन र श्याम सुन्दर यादवको नेतृत्वमा सद्भावना आनन्ददेवी गठन
-२०५८ साल माघ १० गते गजेन्द्रनारायण सिंहको निधन लगतै पार्टीको नेतृत्व बद्रीप्रसाद मण्डलको नेतृत्वमा पुगेपछि दरवार प्रवेश तीन टुक्रामा विभाजित
-३ वैशाख २०४७ मा स्थापना गरेको नेपाल सद्भावना पार्टी स्थापना परिषद्को रुपमा स्थापना
-२०४० सालमा गजेन्द्रनारायण सिंह,रामजनम तिवारी र रामचन्द्र मिश्र लगायतको पहलमा नेपाल सद्भावना परिषद गठन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।