काठमाडौं- नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले प्रभाव पारेका ठूला ऋणको अध्ययन गर्ने भएको छ। राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा माथिको कर्जा कत्तिको गएको रहेछ भनेर अध्ययन गर्न लागेको कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई ५ करोड रुपैयाँ वा सोभन्दा माथिको कर्जा लगेका ग्राहकको विवरण माग गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुले यस्तो विवरण जेठ १५ गतेसम्ममा उपलब्ध गराउनुपर्नेछ।
राष्ट्र बैंकले यसअघि नै सम्पूर्ण बैंकहरुलाई नियमित रुपमा प्रदान गर्ने रिपोर्टिङहरु उपलब्ध गराउन निर्देशन जारी गरिसकेको छ। कोभिड-१९ ले पारेको प्रभाव र यसका लागि के-कस्ता पोलिसी ल्याउनुपर्छ भनेर अहिले नेपाल राष्ट्र बैंक अध्ययनमा जुटेको छ।
बैंकहरुले उक्त कर्जा कुन कुन क्षेत्रमा प्रवाह गरेका रहेछन् र उनीहरुलाई के कस्तो असर परेको रहेछ भनेर अध्ययन गर्ने ढकालले जनाए। उनले भने‚ ‘उनीहरुलाई उकास्नका लागि के कस्तो योजना आवश्यक पर्ने रहेछ भनेर अध्ययन गरिहेका छौं।’
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना ‘कोभिड-१९’ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ।
नेपालमा तथा भारतमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन कहिलेमम्म लम्बिने अनिश्चित छ। यस अवधिमा सम्पूर्ण उद्योग कल कारखाना तथा व्यवसाय ठप्पजस्तै छन्। यसले सबैभन्दा पहिला बैंकको कर्जा तिर्न सक्ने क्षमतामा ह्रास ल्याउनेछ। यस अवस्थामा के-कस्ता राहत प्याकेज ल्याउनुपर्छ भनेर राष्ट्र बैंक तथा नेपाल सरकार अध्ययन गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।