हाम्रो जीबा भन्नुहुन्थ्यो- उहिल्यै राजर्षि महाराजको पालामा कुन्नि कता हो आगो लाग्यो रे। लाग्नासाथ घरबेटीले थरीलाई पुकारेछ। थरी ससुरालीमा श्राद्ध खान निस्किसकेकोले थरिनीले भनिछिन्- 'भोलि उहाँ आउनेबित्तिकै म भनिदिउँला।' भोलिपल्ट बिहान एक चिलिम तमाखु पनि राम्रो ननिखारीकन थरीजी पुलिसचौकीमा पुगेछन्। तर चौकीका हवलदार छुट्टी लिएर हिँडिसकेछन्। घरतिर सिपाहीले सोही बेहोरा बताई भोलि आउने आदेश दियो। भोलिपल्ट चौकीले खबर दियो र त्यसको भोलिपल्ट ठानामा खबर पुग्यो। ठानाले गोस्वारालाई, गोस्वाराले हजुरियालाई खबर गर्दागर्दै श्री ३ महाराजकहाँ तीन महिना तीन दिनपछि तात्तातो बिन्ती चढ्यो फलाना ठाउँमा आगो लाग्यो भन्दै । तेह्रओटी नानीसँग जिस्किरहेका श्री ३ ज्यूबाट 'लौ भोलि सम्झाउनू' भन्ने हुकुम भयो। भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ति बिसायो- 'सरकार फलाना ठाउँमा आगोले सिद्धयाएछ।' काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो- 'लौ भोलि नै निभाउन लगाइदिनू।'
यो भैरव अर्यालको 'जय भोलि' निबन्धको एक अंश हो। सत्ताको भोलिवाद उजागर गर्न उनले सहारा लिएको एक प्रसंग।
राणाकालको अवस्था झल्काउन उनले कथेको प्रसंग गणतन्त्रकालमा पनि उस्तै नै छ। त्यसबेलाका श्री ३ ले आगो निभेपछि निभाउन आदेश दिएका थिए। संवैधानिक अधिकार पाएका, जनताले आफैं भोट हालेर जिताएका, सिंहासनमा विराजमान सर्वहाराका नेता सुनेको नसुन्यै गरिरहेका छन्।
गणतन्त्रकालका 'श्री ३'ले न मेडिकल सामाग्री खरिदमा भएको भ्रष्टचारा देखे, न लकडाउनको मारमा भोकै मरिने भएपछि भोक मेट्ने लालसाले पैदलै गाउँ फर्किरहेका राजमार्गका ताँती नै देखेका छन्। गणतन्त्रकालका श्री ३ का मुखारी पनि मौन छन्। श्री ३ लकडाउन भनेको मन लागेको ठाउँमा हिड्ने सुविधा हो? घरमा बस्ने दूधभात खाने भन्दै रिसाइ बक्सेला भन्ने ठूलो भय छ।
शासकहरु भने यही बेला विरोध कम हुने भएकाले तानाशाह बन्न उद्यत भएको उनको धारणा छ। उनको धारणा यहाँ पुष्टि भइरहेको छ।
न्युयोर्क टाइम्सकी स्तम्भकार सेलम गेब्रेकिदानले महामारीका बेला थुप्रै देशका शासकले नागरिक अधिकार खोसेर आफूलाई निरंकुश ठड्याएको बारे एक आलेख प्रकाशन गरिसकेकी छन्। कोरोना भाइरसको महामारी फैलिएका बेला चिन्तित नागरिक सरकारबाट काम होस् भन्ने चाहन्छन्। तर शासकहरु भने यही बेला विरोध कम हुने भएकाले तानाशाह बन्न उद्यत भएको उनको धारणा छ। उनको धारणा यहाँ पुष्टि भइरहेको छ।
औषधि किन्ने बहानामा जेट विमान चलाएर भ्रष्टाचारको आवरण बलियो बनाउन साम, दाम, दण्ड र भेद अपनाउन खप्पिस साशक समस्याले चेपेर इन्तु न चिन्नु भएका नागरिकमाथि प्रहरीको लाठी वर्षाउन व्यस्त छ।
हिजो सर्वहाराको मुक्तिको नारामा लोभिएर मतदान मार्फत् सत्ता सुम्पिएका नागरिकले बल्ल बुझिरहेका छन् सर्वाहारा मुक्ति भनेको सर्वहाराको समस्याको मुक्ति होइन रहेछ। सर्वहारालाई जीवनबाट मुक्त गर्ने नीति पो रहेछ।
लकडाउन सुरु भएको २५ दिन बितिसकेको छ। भोकप्यासले ब्याकुल आमजनता सडकमा भौतारिइरहेका छन्। सर्वहाराको नेतृत्व गरेको सरकार रैतिलाई झै व्यवहार गर्दै 'जहाँ छस्, त्यहीँ बस्' भन्ने आदेश दिइरहेको छ। उनीहरूका लागि जीवन जोगिने आशमा कुम्लो बोकेर राजमार्गका ताता पिचमा पैताला सेकिरहेका मजदुरहरू मान्छे हैनन्, कोरोना भाइरसका ताँती हुन्। जसले सुविधासम्पन्न बालुवाटार दरवारमा बसेका शासकको जीवन र सत्तामा कोरोना सारिदिन सक्छन्।
मुखारीहरू डिजिटल पर्दामा झुल्किरहन्छन्, हाम्रा श्री ३ महाराज ज्यादै संवेदनशील हुनुहुन्छ, तर दुश्मनहरूले गिद्द र सिनो मात्र देखे भन्न।
त्यसैले भूकम्प नै आएजसरी लगाएको लकडाउनले धेरै दिन खाने गाँसकै टुंगो नभएका मजुदर जहाँ थे त्यहीँ रहे। केही दिन त गुजारा चलाएकै थिए। हाम्रो सरकार छ, उसले हेर्छ नि भन्दाभन्दै चामलका प्लास्टिक रित्तिए।
तर सर्वहारा शासकका प्रतिनिधि आएनन्। पानीका ग्यालिन रित्तिए। गोजीका २-४ दाम टक्टकिए। शासक बेलाबखत रंगिन पर्दामा झुल्कदै आश्वासन दिइरहे। आश जगाए म शासक भएको देशमा कोही भोकले मर्नु पर्दैन। भोक र अभावले श्रमजीवी वर्ग इन्तु न चिन्तुमा पुग्दा पनि काँचको पर्दाका शासक काँचमै रहिरहे।
मुखारीहरू डिजिटल पर्दामा झुल्किरहन्छन्, हाम्रा श्री ३ महाराज ज्यादै संवेदनशील हुनुहुन्छ, तर दुश्मनहरूले गिद्द र सिनो मात्र देखे भन्न। कोही हाम्रा महाराज शासन चलाउन ध्यानमा मग्न हुनुहुन्छ ध्यान भंग नगर, दुर्घटना होला भनेर तर्साउँछन् पनि।
राजधानी छोडेर गाउँ फर्कनेको लर्को लाग्न थालेको उहिल्यै हो। ललितपुरको लेलेबाट हुम्लाको लिमी पुग्न बालबच्चा बोकेर गर्भवती ठसठस कन्दै हिँडेको धेरै भयो। कोही शरीरले साथ नदिएर बीचैमा अलपत्र परेका छन्। केही सकिनसकी पुलिसको आँखा छल्दै अघि बढिरहेका छन्।
कवि लाङ्स्टन ह्युजले 'द रेइजन इन द सन' कवितामा भनेजस्तै सपनाहरू धकेलेको धकेल्यै गरे गह्रुँगो भएर विस्फोट हुन्छ। २००७, २०४६ र २०६२/०६३ यही धकेलेको धकेल्यै गर्नुको परिणाम थियो। त्यही विष्फोटको बलमा सत्तामा पुगेकाहरुले बिर्सिए पनि नागरिकले बिर्सेका छैनन्। धकेलाईले तीव्रता लिइरहेको छ। जब यो विष्फोट हुनेछ, अहिलेका श्री ३ हरू निर्मल निवासमा थन्किएर डिजिटल मैदानमा आफ्नै अस्तित्व खोजिरहेका भूतपूर्व श्री ५ कै हालमा पक्कै पुग्नेछन्।
यो विद्रोहको नियमै हो। त्यो बेला न, यिनका मुखारी जोगाउन आउनेछन् न यिनका चाकरी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।