काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विदेशमा बस्ने नेपालीका पक्षमा सरकारले तत्परता नदेखाएको जनाएका छन्।
नेपालमा रहेका विदेशीहरु विमान चार्टड गरेर आ–आफ्नो देश गैसकेका अवस्थामा आफ्नो नागरिकका पक्षमा सरकारले चालेका कदम अपर्याप्त रहेको उनले पत्रमा उल्लेख गरेका छन्। ३० लाखभन्दा बढी नेपालीहरुले आर्जन गरेको कमाई वैदेशिक मुद्रा संचिति र समग्रमा नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको स्मरण गराएका छन्।
यो महाव्याधीको समयमा विश्वका जुनसुकै स्थानमा रहेका नेपाली राहदानीवाहकलाई सुरक्षा दिनु राज्यको कर्तव्य भएको पनि भट्टराईले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। छिमेकी मुलुक भारतमा रहेका हजारौ नागरिक स्वदेश फर्कन चाहेको उल्लेख गर्दै उनीहरुलाई नेपाल ल्याउन सरकारको दायित्व किन हुँदैन भनि प्रश्न गरेका छन्।
अध्ययनका क्रममा रहेका कतिपय विद्यार्थीहरु आर्थिक समस्यामा परेको उल्लेख गर्दै उनले पत्रमा समस्यामा रहेका सबैलाई स्वदेश फर्कने वातावरण बनाउन आग्रह गरेका छन्।
कूटनीतिक पहल गरेर उनीहरुलाई विमान चार्टड गरेर नेपाल ल्याउन पनि सुझाएका छन्।
भिसा सकिएका नेपाली नागरिकको भिसा थप्नका लागि पहल गर्न उनले आग्रह गरेका छन्। वैदेशिक रोजगारीबाट जागिर गुमेर फर्केका नेपालीहरुलाई स्वरोजगार वा रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण पनि पत्रमा गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।